कोरोना खोप उत्पादक सेरम इन्स्टिच्युटको भवनमा आगलागी

एजेन्सी। भारतको पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको छ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको कम्पनीको निर्माणाधीन भवनमा बिहीबार आगलागी भएको हो। भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कम्पनीको भवनभित्र कोही पनि थुनिएका भने छैनन्।

अहिले घटनास्थलमा १० ओटा दमकल पुगेका छन् र आगो निभाउने प्रयास भइरहेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आगलागीले कम्पनीको खोप उत्पादनमा भने कुनै असर पर्नेछैन। यो भवन निर्माणधीन रहेको र कम्पनीको खोप उत्पादन केन्द्र भने सुरक्षित रहेकाले कम्पनीको उत्पादनमा कुनै असर नपार्ने अधिकारीहरुले बताएका छन्। अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन।

पुनेमा सेरम इन्स्टिच्युट एक सय एकड जमिनमा फैलिएको छ। सेरम इन्स्टिच्युटले अहिलेसम्म पाँच करोड डोज कोरोना खोप उत्पादन गरिसकेको छ। कम्पनीले उत्पादन गरिरहेको कोभिसिल्ड खोपलाई नेपालमा पनि अनुमति दिइएको छ।

प्रतिक्रया दिनुहोस्