शालीनदीमा ५० जना मात्र व्रत बस्न पाउने, एक्सरे र पीसीआर नेगेटिभ रिपोर्ट चाहिने

काठमाडौं। काठमाडौंको साँखुमा एक महिनासम्म चल्ने शालीनदी मेलामा व्रत बस्ने व्रतालुको लागि कठोर नियम बनाइएको छ।

कोरोना भाइरसको महामारीका कारण व्रतालुहरूको स्वास्थ्यलाई ख्याल गर्दै निमोनिया नभएको प्रमाण माग्नेदेखि निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले जनाएको छ।

समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठका अनुसार अघिल्ला वर्षमा ४०० भन्दा बढी व्रतालु सहभागी हुने सो मेलामा यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइने भएको छ।

१५ जना पुरुष र ३५ जना महिलालाई मात्रै यस वर्ष शालीनदीमा व्रत बस्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ। व्रतालुहरुको लागि २० वर्षदेखि ५० सम्म उमेर समूहको हुनुपर्ने भनी उमेरहद तोकिएको छ। साथमा पीसीआर वा एन्टिजिन टेस्ट गर्नुपर्ने, निमोनिया छ कि छैन भनेर एक्सरे गरेको रिपोर्ट देखाउनुपर्ने, क्रोनिक फ्लुहरू, मुटुरोग, फोक्सोमा समस्या भएका जस्ता व्यक्तिलाई व्रत बस्न नदिइने लगायतका मापदण्ड तोकिएको छ।

अध्यक्ष श्रेष्ठका अनुसार यसअघि नियमित शालीनदीमा नुहाउन आउने व्रतालुहरू साँखु क्षेत्रका जुनसुकै घरमा पनि बस्न सक्ने व्यवस्था थियो। तर अहिले समितिले नै सबै व्रतालुलाई बस्ने व्यवस्था गर्ने र व्रतालुलाई नदीमा नुहाउन जाँदा स्कर्टिङ गरेर लैजाने र ल्याउने व्यवस्था गरेको छ।

माघ १५ देखि फागुन महिनासम्म हुने स्वस्थानी व्रतको समयमा शालीनदी दर्शन गर्न आउने दर्शनार्थीहरूलाई भने त्यतिधेरै मापदण्ड तोकिएको छैन। तर सामाजिक दुरी कायम गर्नको लागि प्रवेशद्वार र निस्कने द्वार छुट्टाछुट्टै राख्ने, सकेसम्म समूहमा हिँड्न नदिने जस्ता मापदण्ड कार्यान्वयनको लागि स्वयंसेवक खटाउने तयारी गरिएको छ।

नगरपालिकाले स्थानीय व्यवसायीलाई मात्रै व्यवसायको लागि अनुमति दिएको जनाएको छ। दर्शनार्थीलाई मनपरी शुल्क नलिइयोस् भन्नको लागि सबै पसलमा मूल्यसूची राख्ने एवं सवारी साधनमा समेत निश्चित भाडा तोक्ने तयारी गरिएको छ।

नियमित दैनिक ६० देखि ६५ वटा गाडी काठमाडौंको चावहिलबाट जाने गरेकामा मेलाको लागि ९० देखि १०० वटा गाडीको व्यवस्था गरिएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए। त्यसमध्ये दैनिक १५ वटा गाडी चक्रपथ घुमेर साँखु( सालीनदीसम्म पुग्ने व्यवस्था गरिएको छ।

स्वस्थानी व्रत कथामा उल्लेखित लावण्य देशको रुपमा मानिएको साँखु क्षेत्रका हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म बसिने स्वस्थानी व्रत यस वर्ष मलमासका कारण केही पछि सरेको छ। परापूर्वकालमा पार्वतीले यहीँ स्वस्थानी व्रत बसी महादेव वर पाएको भन्ने धार्मिक विश्वासका कारण मध्यनेपालमा स्वस्थानी व्रतलाई महत्वपूर्ण व्रतको रुपमा मान्ने गरिन्छ।

प्रतिक्रया दिनुहोस्