बग्दाद हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लियो

एजेन्सी। बग्दादको एक बजारमा बिहीबार भएको आत्मघाती आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ।

बिहीबार भीडभाडयुक्त बजार केही व्यक्तिले आत्मघाती बम पड्काउँदा ३२ जनाको मृत्यु भएको थियो। सिया मुस्लिमलाई लक्षित गरेर बिस्फोट गराइएको आईएसले जनाएको छ।

बग्दादमा पछिल्लो तीन वर्षयताकै यो सबैभन्दा ठूलो आत्मघाती बिस्फोट हो। यो बिस्फोट केन्द्रीय बग्दादको बाब अल शरीकी कमर्शियल क्षेत्रमा भएको थियो। इराकमा खराब आर्थिक अवस्था र चाडैं चुनाव गराउने निर्णयका कारण अहिले आर्थिक तथा राजनीतिक तनाव छ। बिस्फोटपछि चारैतर्फ रगत नै रगत देखिएको थियो।

सन् २०१७ को अन्त्यतिर ईराकमा इस्लामिक स्टेट पराजित भएपछि बग्दादमा बम हमला दुर्लभै मात्र हुने गरेको थियो। कुनै समय इस्लामिक स्टेटले पूर्वी इराक र पश्चिम सिरियाको ८८ हजार वर्ग किलोमिटर क्षेत्र कब्जामा लिएको थियो। झन्डै ८० लाख जनसंख्यालाई उसले कडा शासनमा राखेको थियो। युद्ध मैदानमा बिस्तारै कमजोर हुँदै गएको आईएस सन् २०१७ को अन्त्यतिर पराजित भएपनि यसका लडाकुहरु अझै सक्रिय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षहरु बताउँछन्।

गत अगस्टमा संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको रिपोर्टअनुसार सिरिया र ईराकमा १० हजारभन्दा धेरै आईएस लडाकुहरु अझै पनि सक्रिय छन्। उनीहरु विशेषगरी ग्रामिण क्षेत्रमा सक्रिय रहेको र सुरक्षा फौजहरुलाई निशाना बनाइरहेको अन्तर्राष्ट्रिय एजेन्सीहरुले जनाएका छन्।

प्रतिक्रया दिनुहोस्