तामाकोसी आयोजना ११ वर्षसम्म पनि अधुरै, लागत ३५ अर्बबाट ७६ अर्ब पुग्यो

काठमाडौ । असार ०७२ मा सम्पन्न हुनुपर्ने माथिल्लो तामाकोसी परियोजना सुरु भएको ११ वर्षमा पनि सम्पन्न नहुने भएको छ ।

पटक–पटक म्याद र लागत थप्दै पछिल्लोपटक मंसिर ०७७ मा कम्तीमा पनि पहिलो युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादन लक्ष्य लिइएकोमा त्योसमेत पूरा भएन । त्यति मात्रै होइन, आगामी वैशाख ०७८ भित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने आयोजनले बताए पनि त्योसमेत पूरा नहुने देखिएको छ ।

जतिसुकै ठूलो विकास आयोजना पनि सामान्यतया ५ वर्षभित्र सम्पन्न हुनुपर्छ । तर, भारतीय ठेकेदार कम्पनीले समयमा पेनस्टक पाइप एवं एक्स्पान्सन ज्वाइन्ट पाइप उपलब्ध गराउन र जडान गर्न नसकेको बहानामा आयोजना ११ वर्षमा पनि अधुरै छ ।

पछिल्लो समय आयोजनाको लट–२ को ठेकेदार टेक्सम्याको रेलवे एन्ड इन्जिनियरिङ कम्पनीले एक्सपान्सन ज्वाइन्ट पाइप बनाउन ढिलाइ गरेको आयोजनाले जनाएको छ । उसले माघसम्ममा पाइप जडान गर्नुपर्ने समयसीमा तोकिएको थियो । त्यसलाई पर्खिंदा आयोजना थप ६ महिना ढिला हुने भएकाले डिजाइन नै परिवर्तन गरिएको अपर तामाकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए ।

‘परामर्शदाता र प्यानल अफ एक्सपर्टको राय–सुझाबअनुसार एक्स्पान्सन ज्वाइन्ट पाइप राख्ने ठाउँमा वैकल्पिक पाइप राखेर उत्पादन थाल्ने तयारीमा छौँ,’ उनले भने । चाँडै उत्पादन थाल्ने लक्ष्यका साथ पूर्वनिर्धारित डिजाइनलाई अन्तिम अवस्थामा आएर परिवर्तन गरिएको र त्यो गुणस्तरीय रहेको उनको भनाइ छ ।

डिजाइन परिवर्तन पनि प्रयोग हुने, पाइप गुणस्तरीय नहुने वा जोखिम हुने हल्ला चले पनि सही नभएको उनको भनाइ छ । तर, नयाँ डिजाइनको पाइप पनि उही भारतीय ठेकेदार कम्पनीले ल्याउनेछ ।

नयाँ कार्यतालिकाअनुसार वैकल्पिक पाइप ल्याउने र फिट गर्ने काम फागुनसम्ममा सम्पन्न गरिने आयोजनाले जनाएको छ । त्यसपछि चैतभित्रमा सबै प्राविधिक पक्षको परीक्षण गरिनेछ । ‘वैशाखदेखि व्यावसायिक उत्पादन थालिने पछिल्लो समयसीमा हो,’ उनले भने, ‘तर, सम्पूर्ण काम सम्पन्न भएपछि पनि परीक्षणका लागि कम्तीमा तीन महिना समय लाग्ने कारणले वैशाखसम्म आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेमा शंका छ । नयाँ कार्यतालिकाअनुसार पहिलो युनिट चार्ज भएको २ हप्तामा अर्को युनिट चार्ज गर्न गरिनेछ । त्यसपछि ढिलोमा पनि असारसम्ममा सबै ६ युनिटबाट विद्युत् उत्पादन हुनेछ ।’

निर्माण थालिएको ११ वर्षसम्म शृङ्खलाबद्ध रूपमा म्याद थपियो
५ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित साउन ०६७ मा सुरु गरिएको बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण थालिएको अहिले १० वर्ष ७ महिनामा हिँडिरहेको छ । सुरुमा निर्धारित लक्ष्यअनुसार असार २०७२ मा आयोजना पूरा हुनुपर्ने थियो । लक्ष्यअनुसार काम त भएको थिएन नै, त्यसमाथि ०७२ वैशाख १२ मा गएको भूकम्पले आयोजनास्थल जाने सडकमै भने क्षति पुर्‍यायो ।

आयोजनाको सुरुङलगायत संरचनामा भने खासै असर पारेन । सडकमार्गका कारण झन्डै डेढ वर्ष निर्माण कार्य रोकियो । त्यसपछि ०७५ को पुसदेखि आयोजना सञ्चालनमा ल्याउने लक्ष्यका साथ ०७३ मंसिरबाट काम पुनः सुरु गरियो ।

यो लक्ष्य पनि पूरा भएन । लट–२ को ठेकेदार टेक्सम्याकोको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस ०७६ भित्र एक युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादनको लक्ष्य राखियो । त्यो लक्ष्य पनि पूरा नभएपछि त्यसपछि ०७७ को असार मसान्तभित्र पहिलो युनिट सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो ।

संरचनाको फिनिसिङ, परीक्षणलगायत कार्य भने ०७६ को चैतभित्र पूरा गर्ने लक्ष्य थियो । तर, त्यो पूरा भएन । त्यसपछि फेरि सारेर मंसिर ०७७ मा पूरा गर्ने बताइयो, जुन पूरा भएन । अहिले आएर वैशाख ०७८ सम्म पूरा गर्ने नयाँ लक्ष्य निर्धारण गरिए पनि त्यो पूरा हुने अवस्था छैन ।

यसअघि तोकिएको समयभन्दा ढिलो गरी माथिल्लो र तल्लो ठाडो सुरुङमा १ सय ३४ पेनस्टक पाइप जडानमा ढिलाइ हुँदा असारमै विद्युत् उत्पादन गर्ने लक्ष्य तुहिएको थियो । ०७६ असारदेखि सुरु भएको ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने काम माघसम्म (८ महिना)मा सक्ने लक्ष्य थियो । तर, साढे ४ महिना ढिला पेनस्टक पाइप जडान सम्पन्न भएको थियो ।

३ सय ५ मिटर लामो माथिल्लो सुरुङमा ६१ पेनस्टक पाइप जडान गर्ने काम १४ असारमा सम्पन्न भएको थियो । माथिल्लो ठाडो सुरुङ जडान कार्य लट–२ को ठेक्का प्याकेजअन्तर्गत हाइड्रो मेकानिकल सामानको आपूर्ति तथा जडान कार्यको ठेकेदार भारतीय कम्पनी टेक्सम्याको रेलवे इन्जिनियरिङले गरेको हो ।

त्यस्तै, ३ सय ६७ मिटर अग्लो तल्लो सुरुङमा पेनस्टकको अन्तिम पाइप जडान कार्य गत जेठमा सम्पन्न भएको थियो । तल्लो ठाडो सुरुङमा ७३ वटा पेनस्टक पाइप जडान गरिएका छन् । आयोजनाको ३ सय ७३ मिटर गहिराइको तल्लो ठाडो सुरुङमा पाइप जडान कार्य लट–३ अन्तर्गत पावरहाउस निर्माण कार्यका लागि छानिएको ठेकेदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले गरेको हो ।

त्यस्तै, दुवै सुरुङमा पेनस्टक पाइप आपूर्ति तथा जडान गर्ने ठेक्का पाएको टेक्सम्याकोले आपूर्ति र जडानमा ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा एन्ड्रिजलाई दिइएको थियो । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २३ पुस ०७५ मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

 

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्