कानुन व्यवसायीहरूको आकस्मिक बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र अरू कानुन व्यवसायीका बारेमा गरेको टिकाटिप्पणीबारे छलफल गर्न कानुन व्यवसायीहरूको आकस्मिक बैठक बस्दैछ।

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले पदाधिकारिहरूको छुट्टाछुट्टै बैठक डाकेको हो।

त्यसैगरी नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरूले पनि भर्चुअल छलफल गरिरहेको नेपाल बारका एक पदाधिकारीले बताए। ‘प्रधानमन्त्रीको अभिव्यक्ति निकै आपत्तिजनक र कानुन व्यवसायीको पेशागत मर्यादामाथिको प्रहार हो’, ती पदाधिकारीले भने, ‘त्यसबारे के गर्ने भन्ने तय गर्न मिटिङ गर्न लागेका हौं।’

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘बुढा मान्छेलाई अदालतमा लगेर तमासा देखाएको’ भनी टिप्पणी गरेको थिए। आइतबार नै इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यसबारेमा प्रश्न उठाएपनि इजलासले उनको विषयवस्तुलाई वास्ता गरेनन्।

प्रतिक्रया दिनुहोस्