शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि तीन विद्यालय बन्द

सल्यान। शिक्षक र विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ।

बनगाड कुपिन्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक साताका लागि विद्यालयहरु बन्द गरिएको नगर प्रमुख गोविन्द पुनले जानकारी दिए।

नगर प्रमुख पुनका अनुसार प्रभाकर माध्यमिक विद्यालय देवस्थल, मुक्ति माध्यमिक विद्यालय हिले पोखरी र गंगा प्राथमिक विद्यालय बन्द गरिएको हो। तीनवटा विद्यालयका ४६ जनाको स्वाब संकलन गरी पीसीआर परिक्षण गर्दा शिक्षक र विद्यार्थी गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको छ।

विद्यालयका सबै शिक्षक र विद्यार्थी कोरोनाको उच्च जोखिममा पर्ने देखिएपछि विद्यालय बन्द गरिएको नगर प्रमुख पुनले बताए। तीनवटै विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना हुनसक्ने सम्भावना देखिएपछि सबैजनाको स्वाव संकलन गरी पीसीआर परीक्षणका लागी सुर्खेत पठाइएको छ।

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि तत्कालका लागि पठनपाठन पूर्ण रुपमा प्रभावित भएको र सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न नसकिने पुनले बताए।

कोरोना देखिएकालाई होम आइसोलेसनमा बस्न र संक्रमित परिवारलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सुझाइएको नगरपालिकाका स्वास्थ्य संयोजक बासुदेव पोखरेलले बताए।

प्रतिक्रया दिनुहोस्