प्रधानमन्त्री कपः सेमिफाइनल समीकरण पूरा

काठमाडौं। राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समीकरण पूरा भएको छ।

विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबारकै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।

मूलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। प्रदेश-२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो। पुलिसको जितमा अनिल साहले अविजित रहदै सर्वाधिक ४७ रन बनाउँदा कुशल भुर्तेलले ४३, दिपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७-१७, सुनिल धमलाले १३ र कप्तान मन्जित श्रेष्ठ १२ रनमा नटआउट रहे। प्रदेश २ का कुमार थापा र विवेक यादवले ३-३ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो। मौसम खराबका कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश-२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले।

यस्तै हिमान्सु दत्तले १६ रन जोडे। आदील अन्सारीले १५ रन बनाए। पुलिसका ललित राजवंशीले ४ विकेट लिए। सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए। पुलिसको जितसँगै लुम्बिनी र प्रदेश-२ प्रतियोगिताबाट बाहिरिएको छ। यस समूहबाट एपिएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ। एपिएफले ४ खेलमा ७ अंक जोडेको छ।

सोमबारकै अर्कोमा एपिएफले आर्मीविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको हो। चार खेलबाट स्पष्ट जित निकालेको एपिएफ समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्दा पराजित आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश पाएको हो।

एपिएफले दिएको २ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन बनाएको थियो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो।

अन्तिम चारमा स्थान बनाएको एपिएफले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिससँग प्रतिस्पर्धा गर्दा आर्मीले बागमती प्रदेशसँग भिड्ने छ। बुधबार पहिलो सेमिफाइनल खेल एपिएफ र पुलिसबीच कीर्तिपुर मैदानमा खेल हुनेछ।

प्रतिक्रया दिनुहोस्