इन्स्पेक्टरकै अगाडिबाट लागूऔषध मुद्दाका थुनुवा फरार

काठमाडौं। महानगरीय प्रहरी वृत्त, नागढुंगाले लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ गरेका थुनुवा प्रहरी अधिकृतकै अगाडिबाट फरार भएका छन्।

थानकोटका प्रहरी निरीक्षक रामप्रसाद सापकोटा नेतृत्वको प्रहरी टोलीसँग ललितपुरको पाटन गएका वेला छक्काउँदै सर्लाहीका मोहम्मद इल्ताज भागेका हुन्।

अनुसन्धानका क्रममा उनले पाटनमा लागूऔषधको मुख्य कारोबारी रहेको इन्स्पेक्टर सापकोटासहितको टोलीलाई बताएका थिए। त्यसपछि लागूऔषध कारोबारका नाइकेलाई खोज्दै सापकोटा इल्ताजलाई लिएर पाटन गएका थिए। तर, त्यहाँबाट प्रहरीलाई छक्याएर उनी भागेको पाइएको छ। इल्ताजको हत्कडीसमेत प्रहरीले खोलिदिएको पाइएको छ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंह घटनाबारे छानविन थालिएको बताउँछन्। उनले भने, ‘हालसम्म नियतभन्दा पनि लापरबाही भएको जस्तो देखिएको छ। कसुर अनुसारको कारबाही हुन्छ।’

नागढुंगा प्रहरीका अनुसार शनिबार बिहान महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६० को बस चेकजाँच गर्ने क्रममा इल्ताज एक हजार बढी नाइट्रोभेट, डाइजेपाम, फेनारगन र नुर्फिनसहित पक्राउ परेका थिए।

प्रतिक्रया दिनुहोस्