वामपन्थी नेता कुँवरको निधन, कुँवर आफ्नो अभिभावक भएको प्रचण्डको भनाई

काठमाडौं। वामपन्थी नेता खम्बसिंह कुँवर ‘काजी बा’को निधन भएको छ।

लामो समयदेखि मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या झेल्दै आएका कुँवरको ९५ वर्षको उमेरमा मंगलबार बिहान ८ः४५ बजे भरतपुर अस्पतालमा निधन भएको हो। कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो। उनलाई अन्तिम समयमा निमोनिया समेत भएको थियो।

विसं २०११ देखि कम्युनिष्ट पार्टीमा लागेका कुँवरले २०२२ सालमा आफ्नै नेतृत्वमा चितवनमा प्रगतिशिल पार्टीको सुरूआत गरेका थिए। पछिल्लो पटक उनी नेकपाको केन्द्रीय सल्लाहकार भएका थिए।

वामपन्थी नेता खम्बसिंह कुँवर ‘काजीबा’लाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जलि दिएका छन्।

श्रद्धाञ्जलिका लागि मंगलबार चितवन आएका प्रचण्डले काजीबाको शवमा फूलमाला र पार्टीको झण्डा ओढाए। शोक सन्तप्त परिवारजनमा उनले समवेदना दिए।

कुँवरको शव श्रद्धाञ्जलिका लागि नेकपा भरतपुर महानगर कमिटी कार्यालय कृष्णपुरमा राखिएको थियो। शवलाई अन्तिम संस्कारका लागि देवघाट लगिएको र त्यसमा सहभागी हुन प्रचण्ड पनि देवघाट पुगेका हुन्।

श्रद्धाञ्जलि दिएपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन काजीबाको ठूलो योगदान रहेको बताए।

आफूले कुँवरबाटै पार्टी सदस्य लिएको खुलाउँदै आफूलाई बढाउन उनले धेरै ठूलो योगदान दिएका पनि बताए। ‘कम्युनिष्ट आन्दोलन र मेरो आफ्नै अभिभावकको रुपमा पनि लिएको छु’, उनले भने। कुँवरबाट २०३३ सालमा पार्टीको सदस्यता लिएको उनले बताए।

कम्युनिष्ट आन्दोलन र राजनीतिमा गम्भीर मोड र धक्का लागेको अवस्थामा काजीबाको निधन पीडादायी रहेको उनले बताए। काजीबाको अवसानले प्रतिगमन र प्रतिगामीविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा दिने उनले बताए।

श्रद्धाञ्जलि कार्यक्रममा नेकपाले जारी गरेको शोक वक्तव्य पढेर सुनाइएको थियो।

कुँवरको निधनमा नेकपा अध्यक्ष प्रचण्ड र प्रचण्ड–माधव समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले संयुक्त श्रद्धाञ्जलि वक्तव्य निकालेका छन्।

प्रतिक्रया दिनुहोस्