न्यायाधीशको संख्या थप्नुपर्ने महसुस हामीलाई पनि भएको होः प्रधानन्यायाधीश जबरा

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने महसुस आफूहरुलाई पनि भएको बताएका छन्।

मंगलबार बहसका क्रमा वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने भनेर भएको बहस स्मरण गर्दै आफू पाँच जनाको इजलासप्रति आफू विश्वस्त रहेको बताएका थिए। ‘यत्तिको विवादमा ५ जना न्यायाधीश इनफ हो’ उनले भने, ‘यो भन्दा पनि ठूलो विवाद भएमा संख्या थप्नुपर्ने हुनसक्छ, लयरहरुले पनि संख्या थप्न सकिने सुझाव दिनुभएको छ।’

लगत्तै प्रधानन्यायाधीश जबराले न्यायाधीशको संख्या थप्नुपर्ने महसुस आफूहरुलाई पनि भएको बताए। तर भौतिक पूर्वाधार नभएको भन्दै उनले भने, ‘हामीलाई पनि महसुस भएको हो, तर पूर्वाधार नभएकाले ५ जना बसिराखेको ठाउँमा ९/११ जना कहाँबाट राख्नू?’

१३ रिट निवेकहरुले यो मुद्दा बृहत पूर्ण इजलासमा पठाउन माग गरेपछि लामो बहस नै भएको थियो। तर संवैधानिक इजलासले २ माघमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएकाले बृहत पूर्ण इजलासमा लैजानु नपर्ने आदेश दिएको थियो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्।

प्रतिक्रया दिनुहोस्