९ वर्षको तयारीपछि भन्सारलाई ‘पेपरलेस’ बनाउन राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौं। भन्सारका सबै कागजी काम सेवाग्राहीको भौतिक उपस्थितिबिनै सम्पन्न गर्ने उद्देश्यसाथ अघि बढाइएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनमा आएको छ।

सन् २०१३ मा परिकल्पनाको रुपमा अघि बढाइएको योजना ९ वर्षपछि कार्यान्वयनमा आएको छ। योसँगै भन्सारमा कागजी काम कारबाहीको युग सकिएको भन्सार विभागले दावी गरेको छ।

मंगलबार ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रणालीको सुरुआत गरे। राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा आएपछि नेपालको भन्सार प्रशासन अन्तर्राष्ट्रिय स्तरको भएको भन्दै प्रणाली सञ्चालन व्यवस्थित गर्दै अघि बढ्ने मन्त्री पौडेलले बताए ।

मंगलबारदेखि भन्सार प्रक्रियामा जोडिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वरिन्टाइन तथा विषादि व्यवस्थापन केन्द्र र पशु सेवा विभागको सेवा एकद्वार प्रणालीमार्फत सुरु भएको छ।

एकद्वार प्रणाली परियोजना कार्यन्वयन इकाईकाअनुसार ति तीन निकायसहित भन्सार विभागबाट सेवाग्राहीले लिनुपर्ने सेवा अब अनलाइनबाट घरमा बसेर सेवाग्राहीले पाउने छन्। प्रणालीमा अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै सूचना तथा सेवा उद्योगी व्यवसायीले अनलाइनबाटै पाउनेछन्। यसअघि लाइसेन्स, पर्मिट तथा अन्य सर्टिफिकेटको लागि भन्सार विभागसँगै दर्जन हाराहारी सरकारी निकायमा सेवाग्राही धाउनु पथ्र्यो।

अन्तर्राष्ट्रिय व्यापारसँग जोडिने अन्तरसरकारीसहित निजी तथा अन्य गरी ४० वटा भन्दा बढी निकायहरु आगामी साउनसम्म प्रणालीमा आबद्ध भइसक्ने छन्। घरमै बसेर सेवाग्राहीले आफ्ना सबै कागज पत्र प्रणालीमा समावेश गरेर प्राप्त गर्ने सेवाले डुइङ बिजनेस कष्ट घटाउने सरकारी दावी छ।

नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तरगत सन् २०१३ जुलाइमा नेपाल सरकार र विश्व बैंकबीच भएको सहयोग समझदारी पछि आयोजनाको काम अघि बढेको थियो।

वेब फाउन्टेन दुबईले निर्माण गरेको एकद्वार प्रणालीको भन्सारको अनलाइन प्रणाली आसिकोडा वर्ल्डसँग पनि संयोजन गरिएको छ। एकद्वार प्रणालीले व्यवसायीमा नयाँ उत्साह थपिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन्।

‘बदलिँदो युगसँगै प्रविधि आत्मसात गरेको भन्सार थप व्यवस्थित हुन जरुरी छ’, अध्यक्ष गोल्छाले भने। प्रणालीको सफल र व्यवस्थित कार्यान्वयन जरुरी भएको उनको भनाइ छ ।

एकद्वार प्रणालीले विद्यामान समस्याहरु हल गर्न सहयोगी हुने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन्। ‘अनलाइन प्रणालीले व्यवसायीहरुको समय र खर्चको जोहो गर्छ, यसलाई सबल कार्यान्वयन चुनौतीपूर्ण छ’, श्रेष्ठले भने।

एकद्वार प्रणाली सञ्चालनपछि भन्सार प्रशासन सुधार गर्न महत्वपूर्ण भएको नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवालको भनाइ छ। अब भन्सार पूर्वाधार निर्माण तथा व्यवस्थित गर्न सरकारले ध्यान दिनु पर्ने उनले बताए।

प्रतिक्रया दिनुहोस्