राजश्व छलेर ल्याईएको ओरियन्स कम्पनीका खाद्य सामाग्रीसहित एक पक्राउ

झापा। प्रहरीले ठूलो परिणाममा ओरियन्स कम्पनीका खाद्य सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका-६ का जितेन्द्र शाह छन्।

इलाका प्रहरी कार्यालय, दमकले दमक-६ स्थित पदम गुरुङको घरमा रहेको गोदाममा छापा हानेर शाहलाई पक्राउ गरेको झापाका एसपी सानुराम भट्टराईले बताए। उनका अनुसार अनुसन्धानका क्रममा शाहसहितका व्यक्तिले बालाजुमा रहेको ग्लोबल ओरियन्स प्रा.लि.बाट ती खाद्य वस्तु खरिद गरी राजश्व छलेर ल्याएको देखिएको छ। अन्य सञ्चालकको खोजी भइरहेको उनले बताए।

प्रहरीका अनुसार ३ हजार ३ सय ५८ बट्टामा रहेको ८७ लाख २६ हजार रुपैयाँ बराबर सामानको बिल भेटिएको छ भने ९ हजार ९ सय ४३ बट्टामा रहेको दुई करोड ४२ लाख ४० हजार ७ सय ३० रुपैयाँ बराबरको सामानको बिल छैन।

हाल सामानसहित पक्राउ परेका व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको छ।

प्रतिक्रया दिनुहोस्