कोरोना खोप लगाएकाले भनेः खोप सुरक्षित छ, सबैले निश्चिन्त भएर लगाउनुस्

काठमाडौं। पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन्।

 

पहिलो पटक खोप लगाएका टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारी, डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाए। उनीहरुले खोप लगाउँदा आफूहरुलाई केही नभएको भन्दै यो सुरक्षित रहेको बताए। उनीहरुले सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरे।

भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको कोभिशिल्ड खोप नेपालमा लगाइएको हो। खोपका केही साइड इफेक्ट पनि हुन सक्ने समाचारहरु सार्वजनिक भइरहेका बेला चिकित्सकहरुले खोप सुरक्षित भएको बताएका हुन्।

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ।

टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले समेत कोरोनाविरुद्धको खोप लगाएका छन्। उनी कोरोनाविरुद्धको खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक हुन्।

प्रतिक्रया दिनुहोस्