विद्युत प्राधिकरणको ध्यान ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजनामा

काठमाडौं। नेपाल विद्युत प्राधिकरण पम्प स्टोरेज आयोजना पनि बनाउनतर्फ उन्मुख भएको भएको छ। खेर जाने पानीलाई जलाशयमा भरेर माथिल्लो भागमा रहेको जलाशयमा विद्युतीय पम्पमार्फत पठाएर बिजुली निकाल्न यस्तो आयोजना बनाइन्छ।

प्राधिकरणले अहिले कास्कीको पोखरा महानगरस्थित बेगनास तालमा पम्प स्टोरेज आयोजना बनाउन सम्भाब्यता अध्ययन गरिरहेको छ। अब कुलेखानी जलविद्युत आयोजनामा पनि एक सय मेगावाटको पम्प स्टोरेज आयोजना बनाउन प्राधिकरण कस्सिएको छ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अन्य स्थानमा पनि पम्प स्टोरेज आयोजना बनाउन अध्ययन गर्ने योजना बनेको बताउँछन्। ‘अन्यत्र कहाँ(कहाँ सम्भव हुन्छ भनेर हेर्दैछौं’, उनले भने।

बेगनासमा अध्ययन चल्दै

प्राधिकरणले लोडसेडिङ हटाउने घोषणा गरेदेखिनै बेगनासमा पम्प स्टारेज आयोजना बनाउन प्रयास गरेको थियो। पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको अग्रसरतामा प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनमा बेगनासको पानी रुपा तालमा खसालेर एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखिएको थियो।

जापानी सहयोग नियोग (जाइका)ले गरेको अर्को अध्ययनले पिक आवरमा १५० मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिने भएपनि त्यसका लागि सस्तो बिजुली आवश्यक पर्ने औंल्याएको थियो। ‘पिक आवर’मा करिब चार घण्टा चलाउन प्राधिकरणले सो आयोजना प्रस्ताव गरेको हो। विद्युतको अत्यधिक माग हुने समयमा बेगनासबाट रुपामा पानी खसाल्ने र अन्य समयमा त्यसलाई बेगनासमै पठाउने प्राधिकरणको योजना छ।

बेगनास र रुपा तालबीचको ५७ मिटर प्राकृतिक हेडलाई प्रयोग गरी विद्युत उत्पादन गर्ने योजना छ। रुपामा खसालिएको पानी पुनः बेगनासमा फर्काइने हुनाले यसले दुवै तालको प्राकृतिक अवस्था र सौन्दर्यलाई कुनै असर नपर्ने प्राधिकरणको दाबी गर्दै आएको छ। आयोजनाको लागत १३ करोड डलर अनुमान गरिएको छ।

केही वर्षअघि काठमाडौं विश्वविद्यालयको सिभिल तथा जियोमेट्रिक्स विभागका प्राध्यापक डा. रमेशकुमार मास्के नेतृत्वको टोलीले गरेको अध्ययनबाट उक्त आयोजना पहिचान भएको थियो।

जाइकाले गरेको अध्ययनमा भने विद्युत खेर जाने अवस्था नआएसम्म यस्तो आयोजना बनाउनु आर्थिक रुपमा सम्भाब्य नहुने देखिएको थियो। पानी तान्न खपत हुने बिजुलीको मूल्य मँहगो पर्ने भएकाले तत्कालै स्टोरेज आयोजना सम्भव नहुने निष्कर्ष निकालिएको थियो।

तर, भविष्यमा लागि आयोजना जरुरी पर्ने भन्दै प्राधिकरणले बेगनासमा आयोजनाको अध्ययन अघि बढाएको थियो।

प्राधिकरणका एक अधिकारीका अनुसार बिजुली जति बेला खेर जाने अवस्था आउँछ, त्यतिबेला पानीलाई पम्पमार्फत पानी तानेर माथि लैजाने र पिक आवरमा तल झारेर बिजुली निकाल्ने गरी बनाउँदा मात्रै नेपालमा पम्प स्टोरेज आयोजना सम्भाब्य हुन्छ । यदि सामान्य अवस्थामा पानी तान्ने हो भने पम्पिङ गर्दा लाग्ने खर्च बराबरको बिजुली उत्पादन गर्न सकिँदैन।

‘प्रणालीबाट बिजुली खेर जान्छ भने त्यति बेलै पम्प गर्ने हो, अरु बेला पम्प गर्दा त पानी तानेको खर्च आयोजनाबाट उत्पादित बिजुलीले उठाउन गाह्रो पर्छ’, उनी भन्छन्।

अब यसैवर्ष प्रणालीमा करिब एक हजार मेगावाट बिजुली थपिने भएकाले खेर जान सक्ने बिजुली पर्याप्त हुने निष्कर्षसहित प्राधिकरण यस्ता आयोजना अघि बढाउन अग्रसर देखिएको छ।

कुलेखानीमा सर्वेक्षण लाइसेन्स माग

प्राधिकरणले मकवानपुरको कुलेखानी जलाशयबाट विद्युत निकालेपछि खोलामा पठाइने पानी पम्प गरेर फर्काउने गरी सर्वेक्षण अनुसमति पत्र (लाइसेन्स) माग गरेको छ। सय मेगावाटको पम्प स्टोरेजका लागि सरकारबाटै स्वीकृति लिएर सम्भाब्यता अध्ययन सुरु गर्ने प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।

प्राधिकरणले आयोजनाको सर्वेक्षण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिइसकेको छ । कुलेखानीमा प्रस्तावित पम्प स्टोरेज आयोजनाबारे प्राधिकरणको एनईए इन्जिनीयरिङ कम्पनीले प्रारिम्भिक अध्ययन गरेको थियो।

इन्द्रसरोबरको विद्युत निकालेपछि खेर जाने पानीलाई पुनः जलाशयमा फर्काएर कुलेखानीबाट थप लाभ लिने गरी आयोजना अघि बढाउन लागिएको शाक्यले बताए।

अहिले कुलेखानी आयोजनालाई नेपालको ‘पावर ब्याकअप’ भनिन्छ। कुलेखानी जलाशयको पानी उपयोग गर्ने गरी अहिले ३ वटा आयोजनाहरु बनेका छन्। कुलेखानी जविद्युत आयोजनाबाट ६० मेगावाट, कुलेखानी दोस्रोबाट ३२ मेगावाट र कुलेखानी तेस्रोबाट १४ मेगावाट बिजुली उत्पादन हुन्छ।

हिउँदमा भारतबाट बढी बिजुली ल्याउनुपर्ने समयमा बेलुकीकको माग धान्न यी आयोजनाहरु चलाइन्छ। पम्प स्टोरेज आयोजना बनाएमा हिउँदमा बिजुली उत्पादन गरेर खोलामा फाल्नुपर्ने कुलेखानीको पानी फेरि उपयोग हुने प्राधिकरणको भनाइ छ।

प्रतिक्रया दिनुहोस्