पुनः निर्माणपछि जापानले हस्तान्तरण गर्यो विपी राजमार्ग

काठमाण्डौ। जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। विहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो।

पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए। नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, र कृषी क्षेत्रमा जापान सरकारको योगदान अनुलनीय रहेको बताए। मन्त्री नेम्बाङ्गले नेपालको विकासमा जापानको सहयोगको प्रशंसा गरे। उनले भने, ‘नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट जापानको यो साथ र सहयोगको हृदयदेखि नै प्रशंसा गर्न चाहान्छु।’

त्यस्तै, जापानीज राजदुत मासामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ संधै निरन्तर रहने बताए।

राजधानीलाई पूर्वी तराईसंग जोड्ने १ सय ६० किलोमिटर लामो विपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो। हस्तान्तरण गरेको दुई महिना नबित्दै वि.स. २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो। भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो।

विपी राजमार्गको पुनःर्निर्माण सन् २०१९ जुलाई ३ मा जापानीज निर्माण कम्पनी हाजमा अण्डो करपोरेशनले सुरु गरेको थियो। करिब १८ महिनामा निर्माण सम्पन्न भयो। पुनर्निर्माणमा गिट्टी, बालुवा बाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो।

प्रतिक्रया दिनुहोस्