प्रधानमन्त्री कपः बागमतीलाई हराउँदै आर्मी फाइनलमा, एपीएफसँग भिडन्त हुने

काठमाडौं। साविक उपविजेता त्रिभुवन आर्मी क्लब चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको हो।

आर्मीले अब उपाधिका लागि अर्को विभागीय टोली एपीएफसँग खेल्नेछ। एपीएफले पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो। आर्मी लगातार चौथो पटक फाइनल पुगेको हो। पहिलो संस्करणमा पुलिससँग उपाधि बाँडेको आर्मी त्यसपछि लगातार दुई पटक फाइनलमा पराजित भएको थियो।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राजेश पुलामीको अर्धशतक मद्दतमा पूरै ५० ओभर खेल्दा १० विकेट गुमाएर २२९ रन बनाएको थियो।

जवाफमा बागमतीले ४०.२ ओभर खेल्दै सबै विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो। एपीएफ र आर्मीबीच फाइनल खेल शनिवार हुनेछ। दोस्रो संस्करणको फाइनलमा एपीएफले आर्मीलाई पराजित गरेको थियो। विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन्।

प्रतिक्रया दिनुहोस्