कोरोनाको उत्पत्तिबारे अध्ययन गर्न चीन गएको टोलीको क्वारेन्टिन अवधि पूरा

एजेन्सी। कोरोना भाइरस (कोभिड-१९) बारे अध्ययनको लागि चीन गएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोलीको क्वारेन्टिनको बसाइ सकिएको छ।

यससँगै टोलीमा रहेका वैज्ञानिकहरुले वुहान सहरमा यो भाइरस कसरी फैलियो भन्ने विषयमा अनुसन्धान गर्नेछन्। त्यसका लागि उनीहरुले शोधकर्ता संस्था, अस्पताल र समुद्री खानाको बजारका मानिसहरुसँग अन्तर्वार्ता लिनेछन्।

यद्यपि डब्ल्यूएचओका वैज्ञानिकहरुको अनुसन्धान चिनियाँ अधिकारीहरुले दिएको प्रमाणमा आधारित हुनेछ। डब्ल्यूएचओ र चीनको महिनौं लामो वार्तापछि चीन विशेषज्ञहरुको टोलीलाई अध्ययनको लागि प्रवेश दिन सहमत भएको हो। डब्ल्यूएचओका १३ विशेषज्ञको टोली जनवरी १४ मा वुहानमा आइपुगेको थियो। त्यसयता क्वारेन्टिनमा बस्दै आएका उनीहरुको क्वारेन्टिनको अवधि बिहीबारबाट सकिएको छ।

क्वारेन्टिनमा बस्दा टोलीले एकआपस तथा चिनियाँ वैज्ञानिकहरुसँग भर्चुअल संवाद गरेका थिए। बिहीबार डब्ल्यूएचओका विशेषज्ञहरु होटलबाट बस चढेर निस्किएका थिए। यद्यपि उनीहरुले पत्रकारहरुसँग भने केही कुरा गरेनन्। यसअघि चीनले आफ्ना विशेषज्ञहरुलाई चीनमा प्रवेश नदिएको भन्दै डब्ल्यूएचओले आपत्ति जनाएको थियो।

कोरोनाको पहिलो संक्रमण चीनको वुहान सहरमा देखिएको थियो। तर, चीनले भने वुहानमै यसको संक्रमण देखिएको हुनुपर्ने जरुरी नरहेको बताएको छ। चिनियाँ सञ्चारमाध्यमहरुले हालै मात्र फ्रोजन खानाको माध्यमबाट कोरोना चीनमा भित्रिएको बताएका छन्। यद्यपि अहिलेसम्म स्वतन्त्ररुपमा कोरोना भाइरसको उत्पत्ति कहाँ भएको हो भन्नेबारे पुष्टि हुन सकेको छैन।

प्रतिक्रया दिनुहोस्