आज ६८औं विश्व कुष्ठरोग दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम गरी ६८ औं विश्व कुष्ठरोग दिवस मनाइँदै छ ।कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उदेश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विभिन्न कार्यक्रम हुँदै छ ।

यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको सङ्क्रमणले लाग्ने गर्छ ।सङ्क्रमणको सुरुमा कुनै लक्षण देखा नपर्न पनि सक्छ । कुष्ठरोग सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ ।

त्यही भएर कतिपय प्रभावित मानिसहरुले चेतनाको अभावमा उपचारमा हेलचेक्र्याइँ गर्दा बिरामीको अवस्था नाजुक भएर ज्यानसमेत गएको पाइन्छ ।

सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हातखुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महशुस हुँदै जानु कुष्ठरोगका लक्षण रहेको डाक्टरहरुको भनाइ छ ।

नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ । तर, कुष्ठरोग निवारणको घोषणा भए पनि नयाँ बिरामी देखिन थालेकाले चुनौती थपिएको छ ।

प्रतिक्रया दिनुहोस्