चीनले नेपाललाई कोरोना विरुद्धको ३ लाख डोज खोप उपलब्ध गराउने

काठमाडौ । चीनले नेपाललाई कोरोना विरुद्धको ३ लाख डोज खोप उपलब्ध गराउने भएको छ।

चिनियाँ दूताबासले आइतबार साँझ एक प्रश्नोत्तर प्रेस नोट जारी गर्दै छिट्टै ३ लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ।

नेपाल सरकारको अनुरोधमा दिन लागिएको ३ लाख डोज खोपबाट १ लाख ५० हजार जना लाभान्वित हुने दूतावासले जनाएको छ।

चिनिया दूतावासले नेपालमा आपतकालीन प्रयोग र खोप प्राप्तिको लागि दर्ता गर्ने सम्बन्धमा नेपाली अधिकारीहरुसँग समन्वय गरिरहेको पनि जनाएको छ।

दूतावासले छिटोभन्दा छिटो खोप नेपालमा पुर्याउन चाहेको जनाउँदै नेपालले कोभिड १९ महामारी विरुद्धको लडाईं जित्ने विश्वास व्यक्त गरेको छ।

चीन दुवै पक्षको विकास र समृद्धिको लागि चिरस्थायी मित्रता र सहकार्यको रणनीतिक साझेदारीलाई थप सुदृढ गर्न नेपाली पक्षसँग मिलेर काम गर्न इच्छुक रहेको पनि दूतावासले जनाएको छ।

चीन र नेपाल असल छिमेकी र असल साथी भएको जनाउँदै दूतावासले भूकम्प र महामारी जस्ता चुनौतीको दुवैदेशले सामना गर्न परिरहेको स्मरण गरेको छ।

दुवै देशले सधैंभर एकअर्कालाई समर्थन गर्दै आएको पनि दूतावासको प्रश्नोत्तर प्रेस नोटमा जनाइएको छ।

 

प्रतिक्रया दिनुहोस्