नेकपा प्रचण्ड-नेपाल पक्षको आम हड्ताल: कतै हिंसात्मक, कतै शान्तिपूर्ण (फोटो फिचर)

दिपेन्द्र लामिछाने हमाल

कोहलपुर। संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षले गरेको देशव्यापी आम हड्तालको प्रभाव विभिन्न स्थानमा फरक-फरक देखिएको छ।

काठमाडौंको गोंगबुमा एकाबिहानै ट्याक्सीमा आगजनी भएको छ। देशव्यापी आमहड्ताल आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले ट्याक्सीमा आगजनी गरेका हुन्। बिहीबार बिहान प्रदेश ३ ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

त्यसैगरी, डडेल्धुरामा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ। बिहीबार जिल्लाको गन्यापधुरा गाउँपालिका-१ भातकाँडा बजारमा ड्युटीमा खटिएका भातकाँडा प्रहरी चौकीका इन्चार्ज अम्मरबहादुर कठायतमाथि आक्रमण भएको हो।

बजार बन्द गराउँदै हिँडेका नेकपा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरूलाई बजार बन्द नगराउन भनेपछि उनीहरूले कठायतमाथि ढुंगा प्रहार भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

त्यस्तै, बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा नेकपा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेका छन्। तोडफोडका क्रममा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल कराही घोप्टिँदा तातो तेलको छिट्टाले पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया बबिता सहनी सामान्य घाइते भएका छन्। पूर्वमन्त्री एवं प्रचण्ड-नेपाल पक्षका नेता शिवकुमार मण्डल नेतृत्वको समूहले उक्त चिया पसल तोडफोड गरेको थियो।

झापामा नेकपाको प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले एउटा कार तोडफोड गरेका छन्। बन्द अवज्ञा गर्दै सडकमा कार कुदाइरहेको भन्दै नेकपाका कार्यकर्ताले मे१च १९४२ नम्बरको गाडी रोक्न खोज्दा चालकले उल्टै कार्यकर्तालाई कुल्चिन खोजेपछि उनीहरूले सो गाडी तोडफोड गरेका हुन्।

त्यस्तै, जनकपुरमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा नेकपा प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन्।

यसैगरी, सुर्खेतमा हड्तालमा उत्रिएको प्रचण्ड-नेपाल पक्ष अराजक बन्दै बजारमा अत्यावश्यक काममा मोटरसाइकल चलाइरहेका मानिसलाई थुतेर कुटपिट गरेका छन्। बुलबुले गेटनजिकै युवाले पूर्वतिरबाट मोटरसाइकल चलाएर आएका युवालाई थुतेर कुटपिट गरेका हुन्। दैलेखको भैरवी गाउँपालिका-१ का जोरासिंह विष्टलाई युवाहरुले मोटरसाइकलबाट झारेर सामूहिक रूपमा कुटपीट गरेका हुन्।

यसैबीच, पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ। महोत्तरीको बर्दिबासस्थित मुख्य चोकमा बिहानैदेखि प्रदर्शन गरिरहेका नेकपा प्रचण्ड-नेपाल पक्षका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर राजमार्ग आशिंक रुपमा खुलाएको हो। राजमार्गमा धर्ना बसेका प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको थियो। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको थियो।

अर्कोतर्फ, रामेछापमा नेकपाको प्रचण्ड-नेपाल पक्षका बन्दकर्ताले सरसफाई गरेर बन्द गरेका छन्। बन्द गराउने परम्परागत शैलीलाई परिवर्तन गरी बिहीबार कार्यकर्ताहरूले बन्दको आह्‍वान गर्दै बजार सरसफाइ गरेका हुन्। आन्दोलनकारीहरू सडक र सडक पेटी बडारीरहेका थिए भने, सररफाइमा यसअघिदेखि निरन्तर रूपमा लागिरहेको रामेछाप सहयोगी मनहरू (रासम) का पदाधिकारीहरुले बडारेर थुपारेको धुलो र फोहोर उठाइरहेका थिए।

यसैबीच, सामाजिक कार्यमा सक्रीय युवाहरूको सामाजिक सञ्जाल समूह मेन्स रुम रिलोडेड (एमआरआर)ले आम हड्तालको अवज्ञा गर्दै काठमाडौंका विभिन्न स्थानमा र्‍याली निकालेको छ। नेपालको झण्डा सहित निकालिएको र्‍यालीमा ‘नेपाल खुल्ला छ’, ‘म त नेपाल बन्द खोल्न आको’, ‘नेपाल बन्द सधैँको लागि बन्द गरौंं’ जस्ता नारा लेखिएको पम्पलेट मोटरसाइकलमा टाँसिएको थियो।

पोखरामा बन्द सधैँका लागि अन्त्य गर्नुपर्ने माग गर्दै बन्दकर्ताहरुलाई काउन्टर दिन बन्दको विपक्षमा मोटरसाइकलमा सवार युवाहरूले बन्दको विरोध गरेका छन्। बन्दको विपक्षमा विद्यार्थी सङ्गठन अनेरास्ववीयुले मोटरसाइकल र्‍याली नै निकालेका थिए।

यता, बाँकेको नेपालगञ्ज र कोहलपुरमा भने आम हड्ताल शान्तिपूर्ण रहेको छ। कोहलपुर बजारका पसल-व्यवसायहरु बन्द छन् भने लामो तथा छोटो दुरीका सवारीसाधनहरु ठप्प छन्। कोहलपुरको चौराहा चोकबाट सवारी आवतजावत बन्द गराएर आन्दोलनकारीहरु सडकमै गीत बजाएर नाचिरहेका छन्। काठमाडौंका साथै पूर्वबाट हिजो छुटेका लामो दुरीका रात्रीबसहरु तथा मालबाहक सवारीसाधनहरु कोहलपुरको चप्परगौडीमा रोकिएका छन्। सुदूरपश्चिम तथा कर्णाली प्रदेशतर्फ जाने यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्।

नेकपा प्रचण्ड-नेपाल पक्षले हिजो मात्रै विज्ञप्ती जारी गरेर आज नै आम हडताल गरी आफूहरुलाई गन्तव्यमा पुग्न नदिएर दुख दिएको र बीचबाटोमै अलपत्र पारेको यात्रुहरुले गुनासो गरेका छन्।

कोहलपुरमा आमहड्तालका केही तस्बिरहरुः

तस्बिर: दिपेन्द्र लामिछाने हमाल

प्रतिक्रया दिनुहोस्