आन्तरिक उडानमा नेपाल एयरलाइन्सको नयाँ तालिका सार्वजनिक

काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि नयाँ तालिका सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार आन्तरिकतर्फ फेब्रुअरी महिनाका लागि हुने उडान तालिका तय भएको हो। यसअनुसार कम्पनीले काठमाडौं र नेपालगन्जलाई आधार विमानस्थल मानि विभिन्न आन्तरिक गन्तब्यमा उडान गर्ने भएको छ। नेपाल एयरलाइन्सले अहिले दुर्गम भेगका विमानस्थलमा मात्र उडान गरिरहेको छ।

कम्पनीसँग ट्विनअटर दुई वटा विमानमात्र आन्तरिक उडानमा उडानयोग्य अवस्थामा छन्। सोहीकारण सुगमका विमानस्थलमा निजी कम्पनीको मात्र उडान रहेको छ। तालिका अनुसार काठमाडौंबाट भोजपुर सातामा पाँच दिन (आइत, सोम, मंगल, बिही र शुक्रबार) उडान हुने छ।

काठमाडौंबाट दाङका लागि समेत पाँच (सोम, बुध, बिही, शुक्र र शनिबार) उडान हुने छ। काठमाडौं-ताप्लेजुङ रुटमा भने साताको तीन (मंगलर, बुध र शनिबार) उडान उडान हुनेछ। काठमाडौं-खानिडाँडा रुटमा बुध र शनिबार जहाज उड्ने भएको छ।

काठमाडौं-रुकुम आइतबार र बिहीबार, काठमाडौं-थामखर्कमा बुधबार र बिहीबार, काठमाडौं-फाप्लु आइतबार जहाज उड्ने गरी तालिका बनाइएको छ। ती गन्तब्यबाट सोही दिन जहाज यात्रु लिएर काठमाडौं फिर्ता हुनेछ।

उता, नेपालगन्जबाट रुकुमका लागि सोमबार र बिहीबार, डोल्पा, जुम्ला, साँफेबगरमा आइतबार उडान हुनेछ। नेपालगन्जबाट सिमकोट र ताल्चामा सोमबार तथा बाजुराका लागि बिहीबार उडान राखिएको कम्पनीले जनाएको छ।

प्रतिक्रया दिनुहोस्