संसद पुनःस्थापना भएन भने देशमा ठूलो आँधी-हुरी आउँछः रघुजी पन्त

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद् पुनःस्थापना हुने दाबी गरेका छन्।


प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्धको आन्दोलनका बारेमा पार्टीको आधिकारिक फेसबुक लाइभमार्फत उनले भने, ‘संसद् पुनःस्थापना भएन भने देशमा ठूलो आँधी-हुरी आउँछ। त्यसले कसलाई बढार्छ भन्ने थाहा छैन। यो सरकार र ढलिहाल्छ।’

आन्दोलन र देशबाट जोगाउनुको एकमात्रै विकल्प संसद् पुनःस्थापना भएको बताए। संयुक्त आन्दोलनको सम्भावना नजिक भएकाले ओलीको कदम परास्त हुने जिकिर गरे।

‘निर्वाचन आयोगको यसअघिको नजिरलाई हेर्दा जता बहुमत छ त्यसलाई आधिकारिकता दिने निर्णय दिन्छ। तर, उहाँहरूले सेटिङको कुरा गरि राख्नुभएको छ। त्यसले शंका पैदा भएको छ’ उनले भने, ‘संवैधानिक परिषद्को नियुक्तिको बिषयमा अदालतमा पुगेको छ।’

प्रधानमन्त्री ओलीको कदमले सभामुख समेत थिच्ने काम भएको बताए। ‘स्वतन्त्र न्यायालयमा विश्वास गछौँ। प्रधानन्यायाधीश आफैले उपस्थित भएर नियुक्ति गरेको बिषय अहिले सर्वोच्चमा उठिरहेको छ’ उनले भने, ‘निर्वाचन आयोग र सर्वोच्चले संविधानको भावनाअनुसार निर्णय हुन्छ। भएन भने, के गर्ने भन्ने त्यो त्यही बेलामा गछौं।’

राजतन्त्र र हिन्दु राज्यको बारेमा चर्चा भएपनि त्यो कुनै पनि हालतमा फर्कन नसक्ने दाबी गरे। देश संघीयता र धर्म निरपेक्षतामा गइसकेको बताए। अहिलको भइरहेको प्रदर्शन कसैलाई धम्क्याउन नभएर लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि भइरहेको बताए।

प्रतिक्रया दिनुहोस्