नयाँ जहाज थपेपछि बुद्ध एयरको दैनिक १ सय उडान

काठमाडौं। नयाँ जहाज थप गरेसँगै बुद्ध एयरले बजार विस्तार सुरु गरेको छ। सोही रणनीति अनुसार अब बुद्धले मूख्य गन्तब्यमा साविकको तुलनामा दैनिक एक-एक उडान थप गरेको छ।

यसअघि दैनिक ९० वटा उडान हुने गरेकोमा अब १ सय उडान दैनिक पुगेको कम्पनीका मार्केटिङ सेल्स निर्देशक रुपेश जोशीले जानकारी दिए। कम्पनीका अनुसार विराटनगर, भैरहवा र जनकपुरबाट अब एकाबिहानै उडान भर्ने कार्यतालिका बनाइएको छ।

बुद्धसँग अब १४ वटा जहाज पुगेका छन्। सोमबार कोरोना महामारीयताकै सबैभन्दा धेरै दैनिक करिब ६ हजार यात्रु बोकेको बुद्धसँग ९ वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र २ वटा बिचक्राफ्ट गरि १४ जहाज छन्।

कोभिड-१९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रमक बजार विस्तारसहित उपस्थिति जनाउने जोशीले बताए। उनका अनुसार अब पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान गरिने भएको छ।

अन्य गन्तव्यमा यात्रुको चाप हेरी उडान विस्तार गर्ने योजना कम्पनीको छ। थपिएको जहाजबाट नियमित विमान मर्मत सम्भार गर्न थप सजिलो हुने जोशीले बताए।

बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। यी बाहेक काठमाडौं र पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ।

प्रतिक्रया दिनुहोस्