लक्ष्य अनुसार कर्णालीमा लगाएनन् कोरोनाविरुद्धको खोप

सुर्खेत। कर्णाली प्रदेशमा पहिलो चरणको कोरोनाविरुद्धको खोप लक्ष्य अनुसार लगाउन नसकिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। साढे ११ हजार जनामा लगाउने लक्ष्य अनुसार खोप ल्याइएपनि जम्मा ९ हजार ४ सय २० जनलाई मात्र खोप लगाइएको निर्देशनालय जनाएको हो।

निर्देशनालयका अनुसार खोप सबैभन्दा बढी सुर्खेतमा र सबैभन्दा कम डोल्पामा लगाइएको छ। सुर्खेतका २ हजार ३ सय ४० जनाले खोप लगाएका छन्। स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा। रविन खड्काले भने, ‘दैलेखका १ हजार ४ सय ८३, जुम्लाका १ हजार ४०, सल्यानका १ हजार २, रुकुम पश्चिमका ८ सय ५०, कालिकोटका ८ सय, जाजरकोटका ६ सय ७३, हुम्लाका ४ सय ८५, मुगुका ४ सय १७ र डोल्पाका ३ सय ३० जनाले खोप लगाएका छन्।’

उनका अनुसार कोभिशिल्ड लगाएका मध्ये १ जनामा गम्भीर खालको समस्या देखिएको थियो। त्यस्तै, ३२ जनामा समान्य स्वास्थ्यमा समस्या देखिएको थियो। हाल भने सबैको अवस्थामा सामान्य रहेको छ।

पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारीहरू, एम्बुलेन्स चालक, अस्पतालका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइमा संलग्न कर्मचारीहरू, वृद्धाश्रममा रहेका तथा मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई दिइएको छ।

पहिलो चरणमा तोकिएका सम्पूर्ण मानिसहरूलाई खोप लगाउने तयारी गरे पनि केही महिला स्वयंसेविका, स्वास्थ्यकर्मीहरू छुटेको बताइएको छ। साथै खड्काले दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको बताए ।

प्रतिक्रया दिनुहोस्