गोली हानी छोरीको हत्या गरेका महरा पक्राउ

बैतडी। गोली हानी छोरीको हत्या गरेर फरार भएका ६५ वर्षीय धनबहादर महरालाई प्रहरीले पक्राउ गरेको छ। पुर्चौडी नगरपालिका-१० विजयपुरका महरालेमाघ २४ गते आफ्नै छोरी ४० वर्षीया बेलमती महरा (धामी) को हत्या गरेका थिए।

महरालाई दोगडाकेदार गाउँपालिका-८ माल्लेकबाट बिहान ९ बजे पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनक धामीले जानकारी दिएका छन्‌।

​प्राप्त जानकारीअनुसार स्थानीयवासीको सहयोगमा निजलाई पक्राउ गरिएको हो। ​महरालाई पक्राउ गर्न प्रहरी निरीक्षक हरिशरण भट्ट नेतृत्वमा प्रहरी टोली खटिएको थियो।

छोरीको हत्या गरेकै रात महराले आफ्नो अर्को घरमा आगजनी गरेका थिए।

घरमा दुइवटी श्रीमती रहेको र कान्छी श्रीमतीसँग घरायसी विवाद हुँदा सम्झाउन खोज्दा महराले छोरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ। हत्या गरिएकी बेलमती विवाहित हुन्। उनी केही दिनदेखि माइतमा बस्दै आएकी थिइन्।

पक्राउ परेका महराले प्रयोग गरेको भरुवा बन्दुक भने फेला नपरेको जनाइएको छ। महरालाई कर्तव्य ज्यान मुद्धा र हतियार खरखजना अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रया दिनुहोस्