प्रमुख प्रशासकीय अधिकृत कार्यालय जान-आउन दैनिक १८० किलोमिटरको यात्रा

कैलाली। कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी कार्यालय आउन दैनिक १८० किलोमिटरको यात्रा गर्छन्। प्रमुख प्रशासकीय अधिकृत बिनाडी धनगढीबाट लम्कीचुहा १८० किलोमिटर दैनिक आवतजावत गर्छन्।

नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था गरेको भए पनि बिनाडी दैनिक घरबाटै ओहरदोहर गरिरहेका छन्। पाँच महिनाअघि सरुवा भएर लम्कीचुहामा आएका बिनाडी कार्यालयको खर्चमा दैनिक १८० किलोमिटर ओहरदोहर गरिरहेका हुन्।

प्रमुख प्रशासकीय अधिकृतको यातायात खर्चका बारेमा लेखा अधिकृत धर्मराज उपाध्यायले बोल्न चाहेनन्। उपाध्यायले इन्धनमा नगरपालिकाको मासिक खर्च दुई लाखसम्म हुने गरेको बताए। “आवास छ, सम्झौता भएको जस्तो लाग्छ, सम्झौता कति रकममा भएको छ, त्यो त प्रशासनमा हेर्नुपर्छ”, उपाध्यायले भने, “घरायसी समस्याले ओहरदोहर गर्नुभएको हो।”

सेवा प्रभावितका बारेमा बिनाडीले आफू समयमै उपस्थित हुने गरेको जिकिर गरे। “म कहिलै पनि १० बजेभन्दा एक मिनेट ढिला गरेको छैन, ५ नबजी निस्केको पनि छैन”, बिनाडीले भने, “मैले एक दिन पनि बिदा लिएको छैन। दैनिक ओहरदोहरमा लाग्ने इन्धन, त्यो त हेर्नुपर्छ मलाई थाहा हुँदैन।”

उता नगरप्रमुख महादेव बजगाईंले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था भएको भन्दै क्वार्टरमा नबस्नु प्रमुख प्रशासकीय अधिकृतको आफ्नै समस्या रहेको बताए। “होइन आवासको व्यवस्था छ, अस्ति मैले पनि सोधेको थिएँ”, नगरप्रमुख बजगाईंले भने, “उहाँको श्रीमती बिरामी भएर हो, अब बस्नुहुन्छ।”

प्रमुख प्रशासकीय अधिकृत बिनाडी यसअघि लम्कीचुहा नगरपालिकामा आएर इन्धन र कार्यालयको खरिदकै बारेमा विवाद भएपछि तत्कालीन नेकपा (एमाले) ले विरोध गरेको थियो। राजनीतिक संयन्त्रले विरोध गरेपछि उहाँ अन्यत्र सरुवा भएर गएका थिए। पछिल्लो समय स्थानीय तहमा खर्च हुने इन्धनका बारेमा बढी गुनासो आउन थालेको छ। स्थानीयवासीले इन्धन र स्रोत साधन प्रयोगमा मनपरी हुन थालेको गुनासो गरेका छन्।

प्रतिक्रया दिनुहोस्