पानीको समस्या टार्न ट्याङकी वितरण

गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिका-१० मा अनुदानमा ट्याङकी वितरण गरिएको छ। पानीको समस्या टार्नका लागि नगरपालिकाले आव ०७७/०७८ मा विनियोजन गरेको बजेटबाट २४० घरधुरीलाई ट्याङकी वितरण गरेको हो।

वडाध्यक्ष पदमप्रसाद अर्यालका अनुसार कृषि तथा पशुविकास, महिला सशक्तिकरण, दलित लक्षित कार्यक्रममा छनोट भएकालाई ट्याङकी वितरण गरिएको हो। वडाले ट्याङकी वितरणका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको थियो।

कृषि तथा पशु पालन क्षेत्रमा पानीको प्रयोग गर्न सहज पुग्ने विश्वासका साथ ट्याङकी वितरण गरिएको नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले बताइन्।

‘यहाँ पानीको समस्या छ। असार मसान्तमै एक घर एक धारा पुर्‍याउन लक्ष्यका साथ काम भइरहेको छ’, वडाध्यक्ष अर्यालले भने, ‘ट्याङकीमा पानी संकलन गरेर कृषि कर्ममा सहज हुने विश्वास हामीले लिएका छौं।’

प्रतिक्रया दिनुहोस्