मितेरी पुल पुनर्निर्माण सकियो, तातोपानी नाका आजबाट सञ्चालन

काठमाडौं। सीमाको पुल मर्मतकालागि बन्द गरिएको नेपाल चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ। बाढीले क्षति पुर्‍याएको मितेरी पुल मर्मत गर्न चिनियाँ पक्षले माघ ८ गतेदेखि उक्त नाका बन्द गरेको थियो।

बन्द भएको २०औं दिन पछि नाकाबाट दुईदेशीय व्यापार पुनः सुरु भएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए।

‘तोकिएको मितिमा चिनियाँहरुले पुलको मर्मत सकेको र आजबाट दुईदेश बीचको ब्यापार पुनः सुचारु भएको छ’, भन्सार कार्यालय प्रमुख खत्रीले भने। आज चीनतर्फबाट माल वस्तु बोकेको ६ वटा कन्टेनर नेपालतर्फ आउँदै गरेको पनि खत्रीले बताए।

चीनतर्फ लोड भएर रहेका थप ४ वटा मालबाहक कन्टेर भने भोली आउने उनको भनाइ छ। बाढीका कारण पुलको एकातर्फको स्परमा क्षति पुगेको र २० दिनसम्म चिनीयाँ प्राविधिकले मर्मत सम्भार गरेको भन्सार कार्यालय तातोपानीले जानाएको छ।

कोरोना, बाढी पहिरो जस्ता कारणले यो वर्ष दर्जनौंपटक तातोपानी नाका बन्द हुँदा नेपाल चीनबीच हुने व्यापार यस वर्ष प्रभावित भएको छ।

प्रतिक्रया दिनुहोस्