प्रधानमन्त्रीको गृह जिल्लामा पत्रकारको विरोध प्रदर्शन

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा सञ्चारकर्मीहरु सडकमा उत्रिएका छन्। ‘संविधानको रक्षा गर, प्रेस स्वतन्त्रता जिन्दावाद’ भन्ने नारासहित सञ्चारकर्मीहरु विरोधमा उत्रिएका हुन्।

नेपाल प्रेस युनियन झापा र प्रेस संगठन नेपाल झापाको संयुक्त आयोजनामा सञ्चारकर्मीहरुले निधारमा कालोपट्टी र हातमा प्ले कार्ड बोकेर प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै मंगलबार बिहान बिर्तामोडमा विरोध प्रदर्शन गरेका छन्।

बिर्तामोडको मुक्तिचोकमा भेला भएका सञ्चारकर्मीहरुले निकालेको विरोध र्‍याली इलाका प्रहरी कार्यालय अनारमनि अगाडिबाट अदुवा पुलसम्म परिक्रममा गर्दै पुनः मुक्ति चोकमा आएर कोणसभा परिणत भएको थियो।

कोणसभा बोल्दै नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले लोकतान्त्रिक संविधानसँगै प्रेस स्वतन्त्रता नै खतरामा परेकाले झापाली सञ्चारकर्मीहरु त्यसको विरोधमा उत्रिएको बताएका छन्। प्रेस स्वतन्त्रता रक्षाका लागि महासंघक ऐकवद्धता रहेको उनको भनाई छ।

त्यस्तै, नेपाल प्रेस संगठन नेपाल प्रदेश १ का अध्यक्ष राजन केडी, पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष कृष्ण हुमागाई लगायतले संविधान र प्रेस स्वतन्त्रता रक्षाका लागि पत्रकारहरु जस्तोसुकै कदम चाल्न पनि पछि नहटने बताएका छन्।

प्रतिक्रया दिनुहोस्