हिमनदी फुट्दा भारतमा मृत्यु भएका दश नेपालीको पहिचान

काठमाडौं। भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमनदी फुट्दा आएको बाढीमा परेर मृत्यु भएका १० नेपालीको शवको पहिचान भएको छ ।

हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी स्थानीय सडक निर्माणमा खटिएका दर्जनौं नेपाली, भारतीय मजदुरसहित स्थानीय बासिन्दा बेपत्ता भएका थिए ।

टोकन नम्बरका आधारमा पत्ता लागेका मृतकमा नरेन्द्रबहादुर, गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह र रमेश नेपाली छन् ।

हिमनदीको बाढीमा परेर ज्यान गुमाउनेमध्ये मंगलबार साँझसम्ममा ३० भन्दा बढी मजदुर र स्थानीयवासीको शव फेला परिसकेको छ । बाढीमा परेर अझै १ सय ७५ जना हराइरहेका छन् ।

उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार हराइरहेकामध्ये ११ जना नेपाली छन् । सूची सार्वजनिक भएको बाहेक पनि थप ४० जनाभन्दा बढी हराइरहेको चमोली जिल्ला विपद् व्यवस्थापन कार्यालयको कन्ट्रोलले जनाएको छ । सार्वजनिक सूचीमा तिनीहरूलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ ।

।हराइरहेका नेपालीहरूमध्ये तीन जना तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजना, सात ऋषिगंगा जलविद्युत् परियोजनामा र एक जना रैनी गाउँमा मजदुरी गर्दै आएका थिए । तीमध्ये तपोवन आयोजनामा काम गर्ने कैलालीको टीकापुरका सोहन चौधरीको मात्र ठेगाना खुलाइएको छ । प्रहरीले जारी गरेको सम्पर्कविहीन रहेका ऋषिगंगा परियोजनामा कार्यरत ५५ मजदुरहरूको सूचीमा कतिपयको थर र ठेगाना उल्लेख नभएकाले थप नेपालीहरू बेपत्ता भएको हुन सक्ने आशंका गरिएको छ ।

उत्तराखण्डको जोशी मठ नजिक हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दालगायतका नदीमा बाढी आएको थियो । अलकनन्दा हिमाली क्षेत्रमा हिमपहिरोका कारण हिमनदीमा विस्फोट भएको आशंका गरिए पनि आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन । बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ ।

 

प्रतिक्रया दिनुहोस्