एलिजाले फिल्म छाडेपछि अर्की नायिका खोज्दै निर्देशक दीपक

काठमाडौं। निर्देशक दीपक श्रेष्ठले बनाएका ‘पापी मान्छे, हिम्मत’ लगायतका चलचित्र बक्स अफिसमा सुपरहिट भए। कुनै समय दीपकका चलचित्रले बक्स अफिसमा धमाका नै मच्चाएका थिए। तर, विगत केही बर्षदेखि दीपक चलचित्र निर्देशनबाट टाढा थिए। उनै, दीपक नयाँ चलचित्र ‘घिन्ताङ’को तयारीमा छन् ।

यो चलचित्रका लागि दीपकले नायकमा गौरव पहारी र नायिकामा एलिजा गौतमलाई साइन गरिसकेका थिए । चलचित्रको छायांकन फागुणको पहिलो साताबाट सुरु गर्ने योजना उनको थियो ।

तर, चलचित्रको छायांकन सुरु हुनु भन्दा केही दिन अगाडि मात्र नायिका एलिजा गौतमले चलचित्र छाडेकी छिन्। उनले, मंगलबार चलचित्रबाट आफू अलग भएको जानकारी निर्देशक श्रेष्ठलाई गराएकी हुन्

एलिजाले आफूले समय दिन नसक्ने भएपछि चलचित्र छाडेको बताइन्। उनले अनलाइनखबरसँग भनिन्–‘म क्यानडा जाँदैछु मेरो बुबाको स्वास्थ्य अवस्था पनि बिग्रिएको छ। यसैले पनि चलचित्रका लागि समय दिन सकिनँ।’

एलिजाले चलचित्र छाडेपछि दीपक यतिबेला नायिकाको खोजीमा लागेका छन्। चलचित्र ‘अनुराग’बाट यो क्षेत्रमा भित्रिएकी एलिजा म्यूजिक भिडियोमा चम्किरहेकी छिन्।

प्रतिक्रया दिनुहोस्