
काठमाडौं। विभागीय टोली एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा लगातार आठौं जित हात पारेको छ।
बुधबार भएको खेलमा साविक विजेता एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ८-० ले पराजित गरेको हो। एपीएफको फराकिलो जितमा सावित्रा भण्डारीले डबल ह्याट्रिक गरिन्। यस्तै अनिता बस्नेतले दुई गोल गरिन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सावित्राले खेलको छैठौं, ३३औं, ४७औं, ६०औं, ६२औं र ७९औं मिनेटमा गोल गरिन्। जारी लिगमा सावित्राको गोल संख्या ३८ पुगेको छ।
अनिता बस्नेतले खेलको पहिलो र ५४ औं मिनेटमा गोल गरिन्। चन्द्रपुर विरुद्धको पहिलो खेल एपीएफले ६-० ले जितेको थियो।
लिगमा शतप्रतिशत जित हात पारेको एपीएफले ८ खेलबाट २४ अंक जोड्दै दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबमाथि ५ अंकको अग्रता बनाएको छ। आर्मी समान खेलबाट १९ अंकसहित दोस्रोमा छ।