पिसाब गर्न गएकी बालिकामाथि सामूहिक बलात्कार

विराटनगर। मोरङमा पिसाब गर्न घरबाट निस्कएकी बालिका सामूहिक बलात्कारमा परेकी छन्। मोरङको जहदा गाँउपालिका–१ कि १४ वर्षीया बालिकाको सोमबार राति ९ बजे सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।

पिसाब गर्न निस्किएकी बालिका नफर्किएपछि अभिभावकले खोजी गर्दा दुई जनाले जबर्जस्ती मोटरसाइकलमा राखेर लगेको खुलेको थियो। गाउँमा हल्ला भएपछि गाउँलेहरु राति ११ बजे बालिकाको खोजीमा निस्किएका थिए र १ बजे प्रहरीले जानकारी पाएको थियो।

करिब तीन घण्टापछि सम्पर्कमा आएकी बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन्। मोटरसाइकलमा लिएर गएकाहरुले बालिकालाई घर छेउमा ल्याएर छाडेका थिए।

घटनामा प्रयोग भएको को २२ प १८१६ नम्बरको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए।

‘बालिकालाई लगेपछि गाउँलेहरु खोजी गर्न निस्किएछन्। गाउँले निस्कदा हल्ला भयो’, थापाले भने ‘हल्ला भएपछि आरोपीहरु मोटरसाइकल छाडेर भारत भागे।’ घटनामा संलग्नहरुको पहिचान भइसकेको बताउँदै उनले खोजी कार्य सुरु गरेको बताए।

घटनास्थल नेपालभारत सीमा क्षेत्रबाट करिब दुई किलोमिटर नेपालतर्फ पर्छ। हल्ला भएपछि उनीहरु राति नै भारततर्फ भागेको प्रहरीको आशंका छ। प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई युवकको खोजी गरेको छ। ‘सोमबार दिउँसो उनीहरु मोटरसाइकलमा घुमिरहेका थिए’, बालिकाका छिमेकीले भने ‘दुबैजना छिमेकी टोलका हुन्।’

समयमा नै थाहा पाउन नसक्दा आरोपी भागेका प्रहरीको भनाइ छ। ‘गाँउलेले सुरुमा जानकारी गराएको भए घटनामा संलग्नहरु राति नै पक्राउ पर्थे’, प्रहरी निरीक्षक थापाले भने, ‘मोटरसाइकल चाहिँ भेटिएको छ, आरोपीको खोजी कार्य जारी छ।’

बालिकाको तर्फबाट इलाका प्रहरी कार्यालय रानीमा मंगलबार जाहेरी दर्ता भएको छ। बालिकाको स्वास्थ्य परीक्षणका लागि माइती नेपालको सेफहाउसमा राखिएको प्रहरी निरीक्षक थापाले बताए।

कानेपोखरीमा बलात्कृत किशोरी बेहोस

मोरङको कानेपोखरीमा पनि एक किशोरी बलात्कृत भएकी छन्। १७ वर्षकी किशोरी बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। गत बिहीबार राति भएको उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीलाई पक्राउ गरेको छ।

चौधरीसँग किशोरीको दुई साताअघि चिनजान भएको थियो। गत बिहीबार किशोरीलाई घरमा बोलाएर बलात्कार गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार भोलिपल्ट बिहान चौधरीले युवतीलाई घर पठाएका थिए। तर युवती चौधरीकै घरनजिक बेहोस भएर लडेकी थिइन्।

त्यसपछि स्थानीय बासिन्दाले उपचारका लागि लगेपछि किशोरीमाथिको बलात्कारको घटना सार्वजनिक भएको थियो। कोसी अस्पताल विराटनगरमा उपचार पछि उनी घर फर्किएकी छन्।

प्रतिक्रया दिनुहोस्