नेकपाका दुई समूहले सडक कब्जा गरेपछि खुलामञ्च खुला गर्न पहल

काठमाडौं। काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्न पहल थालेको छ।

दरबार हाइस्कुल निर्माण सम्पन्न भएको र वीर अस्पताल भवन निर्माण पनि अन्तिम चरणमा पुगेको भन्दै महानगरपालिकाले ती संरचना निर्माण गर्न खुलामञ्चमा थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्न पहल शुरू गरेको हो।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको निर्देशन अनुसार अहिले दरबार हाइस्कुल र वीर अस्पताल प्रशासनसँग निरन्तर छलफल गरिरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए।

उनले भने, ‘राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि उहाँहरूले महानगरपालिकासँग आग्रह गरेअनुसार नै ठाउँ उपलब्ध गराएको हो। कोभिड-१९ को कहर लगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको हो। दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भै सकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्न हुने चरणमा छ। अब हामी छिट्टै खुलामञ्च खुला गर्छौं।’

पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्‍याली र आमसभाका कारण महानगर क्षेत्र भित्रका सडकहरू अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकाले छिटोभन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको ज्ञवालीको भनाई छ।

‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठूला-ठूला सभा गर्दा पछिल्लो समय महानगरपालिका क्षेत्र भित्रको ट्राफिक आवागमनसँगै व्यापार व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ’, ज्ञवालीले भने, ‘राष्ट्रिय महत्वका संरचना निर्माण हुने र ती संरचनाका लागि प्रयोग हुने निर्माण सामग्री जथाभावी सडकमा राख्दा सडकको स्वरुप नै बिग्रिने भएकाले महानगरपालिकाले असल नियतले ठाउँ उपलब्ध गराएको हो, अब ती संरचना निर्माण सम्पन्न भएको अवस्थामा खुलामञ्च खुला गर्नुको अर्को विकल्प छैन।’

ज्ञवालीले प्राचीन कालदेखि काठमाडौंको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला नै छाड्ने बताए। भ्यू टावर निर्माणका लागि खुलामञ्चभित्र अस्थायी रूपमा सरेको पुरानो बसपार्कलाई पनि उचित व्यवस्थापन गर्ने ज्ञवालीको भनाई छ।

‘भ्यु टावर निर्माणसँगै खुलामञ्चमा सरेको बसपार्क अहिले अस्थायी रूपमा सञ्चालनमा छ’, ज्ञवालीले थपे, ‘अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठूला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति टीएन शाहले पनि अस्पताल भवन निर्माणको काम ९० प्रतिशत बढी सम्पन्न भएको भन्दै थप छलफल गरी जतिसक्दो छिटो खुलामञ्च खुला गर्न पहल गर्ने बताए।

‘ठेकेदार कम्पनीले पछिल्लोपटक दिएको प्रतिवेदनमा ९० प्रतिशत काम सम्पन्न भएको उल्लेख छ’, शाहले भने, ‘हामीले पनि ठेकेदारलाई जतिसक्दो छिटो काम सम्पन्न गर्न भनेका छौँ। म फेरि पनि निर्देशन दिन्छु।’

उनले बाँकी निर्माण कार्यका लागि निर्माण सामग्री निर्माणाधिन अस्पताल भित्रै राखेर पनि गर्न सकिने रहेछ भने त्यसमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। ‘हाम्रै परिसरभित्र निर्माण सामग्री राख्न सकिन्छ भने त्यो उपाय पनि गर्न हामी तयार छौं’, उनले भने, ‘खुलामञ्च सार्वजनिक ठाउँ हो। त्यसको उपादेयता अझ बढेको अवस्थामा सक्दो छिटो खाली गर्ने प्रयास गर्नुको विकल्प छैन।’

वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले पनि खुलामञ्चमा थुपारेका निर्माण सामग्री हटाउन सकारात्मक रहेको जानकारी दिए। ‘हामी त्यहाँका सामग्री हटाउन सकारात्मक छौँ। निर्माणको काम अझै केही बाँकी रहेकाले र अझैसम्म कामदार त्यहाँ बसिरहेकाले केही समस्या भएको छ। पार्किङ क्षेत्र हामी एक हप्ताभित्रै खाली गर्न तयार छौं। मैले ठेकदारसँग पनि छलफल गरिसकेको छु। कोभिड, बजेट निकासामा भएको ढिलाइ लगायतले समयमा काम सम्पन्न गर्न नसक्दा केही ढिलाई भएको हो’, उनले भने।

महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले पनि वीर अस्पताल र दरवार हाइस्कुल प्रशासनसँग निरन्तर छलफलमा रहेको भन्दै जतिसक्दो छिटो खुला गर्ने तयारीमा रहेको जानकारी दिए। ‘दरबार हाइस्कुलको हस्तान्तरण भै पठनपाठन शुरू भएको छ’, सापकोटाले भने, ‘वीरको पनि ९० प्रतिशत बढी काम सम्पन्न भएको भनेपछि अब जतिसक्दो छिटो खाली गर्नुको अर्को विकल्प छैन।’

प्रतिक्रया दिनुहोस्