भारतीय नेताहरुसँग नेपाल परिवार दलका अध्यक्ष ढकालको भेटवार्ता

काठमाडौं। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले भारतका राजनीतिक व्यक्तित्वहरुसँग भेटवार्ता गरेका छन्।

भारतको तीन दिने भ्रमणमा उनले भूतपूर्वप्रधानमन्त्री एचडी देवगौडा, उपराष्ट्रपति हमिद अन्सारी, भारतीय जनता पार्टी र भारतीय कांग्रेसका नेताहरुसँग भेटवार्ता गरेको ढकालको सचिवालयले जनाएको छ।

ढकाल बिहीबार स्वदेश फर्किएका छन्। भारतमा रहदाँ उनले भेटवार्ता तथा अन्तरक्रिया गरेका थिए। नयाँ दिल्लीमा भएको भेटमा आपसी हित र मित्रता अभिबृद्धिबारे छलफल भएको नेता ढकालको सचिवालयले जनाएको छ।

पूर्वप्रधानमन्त्री देवगौडा र पूर्वउपराष्ट्रपति अन्सारी भेट्न ढकाल उनीहरुकै निवास पुगेका थिए। सांसद तथा पूर्व राजदूतहरु केभी राजन, मन्जित पुरी लगायतसँग सांग्रिला होटेलमा छलफल गरेका भ्रमण दलमा सहभागी परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।

ढकालले नेपाली राजदुतावासमा राजदुत निलाम्बर आचार्यलाई पनि भेटेका थिए। त्यसैगरी भाजपा नेताहरु बिजय जोली, अशोक ठाकुर, आम आदमी पार्टीका युवा नेता तथा सांसद अजय दत्त लगएतले पनि नेता ढकाललाई सांग्रिला होटलमै भेटेका थिए।

केही प्रवासी नेपालीहरु पनि ढकाललाई भेट्न होटेल पुगेका थिए। भेटघाटको संयोजन परिवार दलका प्रबक्ता सन्तोष पौडेल तथा दिल्लीस्थित सामाजिक अभियन्ता कृष्ण अधिकारीले गरेका थिए।

प्रतिक्रया दिनुहोस्