
एजेन्सी। भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनसँग सीमा विवादबारे सहमति भएको बताएका छन् ।
लामो समयदेखि लद्दाखस्थित सीमाक्षेत्रमा देखिएको विवाद सम्झौतामा आएर टुङ्गिएको हो। बिहीबार भारतीय संसदमा रक्षामन्त्री सिंहले लामो समयसम्म चलेको वार्तापछि भारत र चीनबीच सम्झौता भएको हो।
गत वर्षको जुन महिनामा उक्त क्षेत्रमा भारत र चिनियाँ सैनिकको बीचमा झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो।
त्यसयता दुई मुलुकको बीचमा सीमाबारे तनाव जारी रहँदै आएको थियो। तनावको घटनापछि दुवै मुलुकका कमाण्डरहरु र कूटनीतिक अधिकारीहरुको बीचमा निरन्तर वार्ता चल्दै आएको थियो।
भारतीय रक्षामन्त्री सिंहले सम्झौतासँगै अग्रपंक्तिमा रहेका दुवै मुलुकका सेनाहरु फिर्ता जान थालेको बताए। भारतीय कूटनीतिक विश्लेषकहरुले दुवै मुलुकले सेना फिर्ता लैजानु स्वागतयोग्य कदम हुने बताएका छन्।