टाइगर कप महिला भलिबलः पुलिसमाथि न्यू डायमण्डको जित

कास्की। पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल पुलिस क्लबले पहिलो हार व्यहोरोको छ।

यसअघि लगातार दुई खेल जितेको पुलिस तेस्रो खेलमा न्यू डायमण्डसंग पराजित भएको हो।

पोखरा रंगशालाको भलिबल कोर्टमा बिहीबार भएको खेलमा पुलिस डायमण्डसंग ३-१ को सेटमा पराजित भयो। पुलिसले यसअघि दुई विभागीय क्लब एपीएफ र त्रिभुवन आर्मीलाई पराजित गरेको थियो। न्यू डायमण्डले भने लगातार दोस्रो जित हात पारेको हो।

पहिलो सेट न्यू डायमण्डले २७-२५ ले जित्यो भने दोस्रो सेट पुलिसले ३१-२९ ले जित्यो। त्यसपछिका दुई सेट न्यू डायमण्डले २७-२५ र २५-१६ को सेटमा जित्यो।

पहिलो खेलमा आर्मीलाई पराजित गरेको न्यू डायमन्डले २ खेलबाट ५ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ। हारपछि पनि ३ खेलबाट ६ अंक रहेको पुलिस फाइनल पुगिसकेको छ। ४ टिम सम्मिलित प्रतियोगितामा राउण्ड रोविन लिगको खेलपछि शीर्ष दुई टिम फाइनल पुग्नेछन्।

२ खेलबाट एपीएफको २ अंक छ। यस्तै ३ खेल खेलिसकेको आर्मी २ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिसकेको छ।

अब एपीएफ र न्यू डायमण्डबीच हुने लिगको अन्तिम खेलबाट फाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ। बिहीबारै भएको पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मीलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गरेको थियो।

विभागीय भिडन्तमा पहिलो सेट आर्मीले २५-१८ ले जित्दै अग्रता बनाएको थियो। दोस्रो सेट एपिएफले ट्राइबेकमा २७-२५ ले जित्दै खेल बराबरी गर्‍यो। तेस्रो सेट एपीएफले सहजै २५-१७ ले जित्दै २-१ को अग्रता बनायो।

चौथो सेटमा आर्मीले पुनरागमन गर्दै २५-२० ले आफ्नो पक्षमा पार्दा खेल निर्णायक सेटसम्म पुगेको थियो। पाँचौं तथा अन्तिम सेट १५-७ ले जित्दै एपीएफले जित हात पारेको हो।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, दोस्रोले ७५ हजार तथा तेस्रोले नगद ३५ हजार प्राप्त गर्ने छ। चौथोले १५ हजार रुपैयाँ पाउनेछ।

यस्तै, सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले ५–५ हजार नगद प्राप्त गर्ने छन्।

प्रतिक्रया दिनुहोस्