देशभरका सरकारी जग्गा सरकार मातहत ल्याउन दबाब दिनका लागि हस्ताक्षर

काठमाडौं। सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले मुलुकभरका सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिएको छ।

समितिले शुक्रबार काठमाण्डौको शान्ति बाटिकामा कार्यक्रम गरि सरकारी जग्गा संरक्षणको माग गर्दै संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाउने जानकारी दिएको हो। ललितानिवास बालुवाटार लगायतका सरकारी जग्गाजमिन सरकारले आफ्नै मातहतमा ल्याई भोगचलन गराउन दबाब दिँदै माघ २३ गतेदेखि हस्ताक्षर अभियान चलाएको संघर्ष समितिले सो हस्ताक्षरलाई सम्बन्धीत मन्त्रालयमा बुझाउने भएको हो।

समितिले ललितानिवास बालुवाटारको सरकारी जग्गा नेपाल सरकारको नाममा कायम गर्न, सुनसरी, धरानस्थित सर्दु जलाधारको ३४८ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गरी सो जग्गा अपचलन गर्नेउपर कारबाही गर्न दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको जनाएको छ।

त्यसैगरी धोबीखोलो बगेको साबिक नगर २५ (क) कित्ता नं. ५०५ को जग्गामा मोही लाग्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने प्रधानमन्त्री उपर कारबाही गरी सो जग्गा सरकारको नाममा दर्ता गर्न, मालपोत कार्यालयले राजकुलो र बाटोमा समेत मोही कायम गर्ने गरेको निर्णयलाई सदर गर्ने न्यायाधिशलाई कारबाहीको लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको संघर्ष समितिका महासचिव युवराज कोइरालाले जानकारी दिए।

संघर्ष समितिले माघ २३ गतेदेखि शुरु गरेको हस्ताक्षर अभियान शुक्रबार शान्तिबाटिकामा कोणसभा गरी समापन गरेको छ। हस्ताक्षर सम्बन्धित मन्त्रालय तथा निकायहरुमा पुर्‍याइने संघर्ष समितिका महासचिव कोइरालाले जानकारी दिए।

प्रतिक्रया दिनुहोस्