खाद्यको चामल बजारमा भन्दा बढी मूल्यको हुँदा बिक्नै कठीन

जाजरकोट। बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा बिक्न छाडेको छ।

जिल्लाका सबै पालिकामा यातायात पहुँच पुगेसँगै बजारमै चामलको मूल्य सस्तो भएको छ। तर, व्यापार कम्पनीको चामलमा प्रतिकेजी १० रुपैयाँ फरक परेपछि कम्पनीको नबिकेको हो। मूल्य घटाउन केन्द्रीय कार्यालयमा आग्रह गर्दा त्यसतर्फ ध्यान नदिँदा कम्पनीको चामलले बजारको चामलसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन।

व्यापार कम्पनीले अरुवा मध्यम चामल प्रतिकेजी ४९, अरुवा मोटो ४६, स्टीम जिरामसिनो ६५, अरुवा मकवानपुर ४६, अरुवा मोटो चामल ४६, खाली प्लास्टिक, जुट बोरो ४६, प्लास्टिक, जुट बोरो ४०, बंगलादेशी जुटबोरा ३० रुपैयाँमा सदरमुकामबाट बिक्री गरिरहेको छ। यही चामल बजारमा प्रतिकेजी १० रुपैयाँ कममा बिक्री हुँदा कम्पनीको चामल नबिकेको हो।

अहिले कम्पनीको नायकवाडा (घाट) चौखा, घोगी, दशेरा, ताँगा, रजुतरा,घरंगा, टापुचौर, काउली, नलगाडमा रहेका डिपोबाट चामल बिक्री भइरहेको छ।

बजारमा पाइने चामलभन्दा डिपोमा पाइने चामलमा मूल्य अन्तर भएपछि सस्तो पाइने ठाउँमा नै सेवाग्राही जाने गरेको पाइएको छ। यातायातको सहज पहुँचसँगै गाउँगाउँमा खाद्यान्न पुगेपछि कम्पनीको चामलले प्रतिस्पर्धा गर्न नसकेको हो।

वर्षायाममा सडक अवरुद्ध भएपछि अत्यधिक माग बढेको भएपनि अहिले व्यापार कम्पनीको चामल महंगो भएको बारेकोट गाउँपालिका-५ का जनकबहादुर शाहीले जानकारी दिए। घटाउन लेखि पठाएको भएपनि केन्द्रबाट मूल्य घटेर आइनपुगेको जाजरकोट शाखाका प्रमुख धर्मबहादुर बस्नेतले बताए।

सहुलियतमा जनसाधारणलाई उपलब्ध गराउने भनिएको चामल नै बजारमा भन्दा महंगो भएको गुनासो आएपछि पटक-पटक निर्णय गरेर पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। उनले भने, ‘हामीले मूल्य घटाएर जनतालाई राहत दिन आग्रह गरेर निर्णय गरि पठाएका छौँ, तर मूल्य घटाएर पठाएको छैन।’

जिल्लामा उत्पादन हुने अन्नले सबै ठाउँमा नपुग्ने भएकाले जाजरकोटमा खाद्यान्न आयात गरिँदै आएको छ। भातमात्र खाने बानीका कारण गाउँघरमा उत्पादन भएको अन्नले महत्व पाइरहेको छैन। जिल्लाको बारेकोट गाउँपालिकामा बाढीपहिरोले व्यापक क्षति बनाएका कारण त्यहाँ खाद्यान्न उत्पादन र उपलब्धतामा निकै मार परेको जिल्ला प्रशासनले जनाएको छ।​​

नलगाड नगरपालिका र शिवालय गाउँपालिकामा समेत बाढी पहिरोले खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ। क्षति पुगेका ठाउँमा खाद्यान्न भारी आयात गर्नुपर्ने बाध्यता छ।

प्रतिक्रया दिनुहोस्