नेकपा फुटेको छैन, केही स्वार्थी व्यक्ति चोइटिएका हुन् – अर्थमन्त्री पौडेल

बुटवल । नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा पार्टी नफुटेको तर केही स्वार्थी व्यक्ति मात्रै चोइटिएको बताउनुभयो । बुटवलमा ओली पक्षले शनिबार गरेको जनसभालाई सम्बोधन गर्दै पौडेलले नेपाली जनता नेकपाको पक्षमा रहेको र उनीहरुले पार्टी फुट्न नदिने दाबी गर्नुभयो ।

‘नेकपा पार्टी फुटेको छैन, केही स्वार्थी, लोभी र विभाजनकारी तत्व मात्रै चोइटिएका हुन्,’ उहाँले भन्नुभयो ,‘नेपाली जनताले नेकपालाई फुट्न दिदैनन् ।’

महासचिव पौडेलले पुष्पकमल दाहाल प्रचण्ड कसैले कुरा बताएर कुरा बुझ्ने व्यक्ति भएको बताउँदै अवस्थाले समेत बुझाउन नसक्दा उहाँसँगै केही व्यक्ति सडकमा गएको बताउनुभयो । ‘प्रचण्ड कमरेड केपी ओलीलाई कसरी प्रधानमन्त्री र अध्यक्षबाट हटाउने भन्ने ध्याउन्न मात्रै हुनुहुन्छ । त्यसैले जनताले साथ दिएका छैनन् । केही अलमलिएका मात्रै छन्,’ उहाँले भन्नुभयो । आफ्नो पद र प्रतिष्ठाका लागि मात्रै पार्टी छोडेर सडकमा गएका नेतालाई जनताले साथ नदिने महासचिव पौडेलले बताउनुभयो ।

खास विचार र व्यवस्था परिवर्तनका लागि विरोध र आन्दोलन हुनुपर्ने र पार्टी विभाजित हुने बताउँदै उहाले अहिले त्यस्तो नदेखिएकाले पार्टी नफुट्ने बताउनुभयो । ‘नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको छैन । विभाजित हुने पनि छैन । जरुर केही स्वार्थी तत्व आन्दोलनबाट किनारा लाग्नेछन् ।

अहिले त्यही भएको छ,’ उहाले भन्नुभयो । महासचिव पौडेलले निर्वाचन आयोगले पार्टी फुटेको भन्न नमिल्ने अभिव्यक्ति दिएकाले पनि पार्टी नफुट्ने र मिलेर चुनावमा जाने दाबी गर्नुभयो । यस्तोमा अलमलमा परेका नेता कार्यकर्ता पनि आफ्नै ठाउँमा फर्कन उनले आग्रह गर्नुभयो ‘जो जो अन्योल र अलमलमा हुनुहुन्छ उहाँ पनि यतै आउनुहुनेछ । जसले कम्युनिष्ट पार्टीको माध्यमबाट देश र समाज बदल्न चाहनुहुन्छ ।

मेची महाकालीका साथीहरु तपाईंहरु आउनुस् । संगै काम गरौं ।’ महासचिव पौडेलले जनता केपी ओलीको पक्षमा रहेको र अबपनि केपी ओलीकै नेतृत्वमा चुनाव हुने र सरकार बन्ने दाबी गर्नुयभो । ‘जतिबेला उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, भुकम्पले थिलोथिलो भएका बेला नाकाबन्दीको सामना गर्नुपरेको थियो । त्यसबेला पनि जनताले साथ दिएका थिए ।

अहिले पनि दिनेछन्,’ उहाँले भन्नुभयो ,‘अबपनि एकपटक ओलीको नेतृत्व आवश्यक पर्यो । तपाईं हामी जुटेर सहयोग गरौं ।’ नेता पौडेलले कोही मान्छेले भ्रम छर्न चुनाव हुन्न भनेपनि आउँदो वैशाख १७ र २७ गते दुवै चुनाव भइछाड्ने र केपी नेतृत्वको सरकारलाई कसैले छेक्न नसक्ने बताउनुभयो ।

 

प्रतिक्रया दिनुहोस्