लुम्बिनी प्रदेशले स्थापना दिवस राप्ती गाउँपालिकामा मनाउँदै

दाङ। लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको मूल समारोह आज स्थायी राजधानी दाङको राप्ती गाँउपालिकामा आयोजना गर्दैछ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा समारोह आयोजना गर्न लागिएको हो। मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरू, उपसभामुख र प्रदेशका सांसदहरू लगायतको सहभागिता रहने जनाइएको छ।

कार्यक्रममा ५८ जनालाई विभिन्न पदकले विभूषित गरिने कार्यक्रम रहेको प्रदेश सरकारले जनाएको छ। गत असोज ३ गते लुम्बिनी प्रदेश सरकारले ११ प्रकारका पदकमार्फत ५८ जनालाई विभूषित गर्ने निर्णय गरेको थियो।

कार्यक्रममा प्रदेश सरकार स्थापना भएपछिका तीन वर्षको उपलब्धी समेटिएको पुस्तक र मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको समीक्षागत पुस्तिका पनि सार्वजनिक गरिने प्रदेश सरकारका प्रमुख सचिव भरतमणि सुवेदीले जानकारी दिए।

गत २० असोजमा प्रदेश सभाले स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा कायम गर्ने र प्रदेशको नाम ‘लुम्बिनी’ राख्ने निर्णय गरेको थियो। राप्ती गाउँपालिकास्थित प्राविधिक शिक्षालय परिसरलाई प्रशासनिक केन्द्र बनाउने र त्यहाँ रहेको प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिका-३ गोबरडिहास्थित सरस्वती उच्च माविमा स्थानान्तरण गर्ने निर्णय प्रदेश सरकारले गरेको छ।

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका १२ वटै जिल्लाका जनप्रतिनिधिहरू पनि सहभागी हुने जनाइएकोछ।

प्रतिक्रया दिनुहोस्