मोरङका शिक्षक हत्यामा प्रकाण्डसहित ३६ जनाविरूद्ध कर्तव्य ज्यानमुद्दा

काठमाडौं । मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण तथा हत्यामा नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित ३६ जनाविरूद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले विप्लवसहित ३६ जनालाई अपहरण तथा कर्तव्य ज्यानमुद्दा दर्ता गरेको हो। यसमा पक्राउ परेका एक मात्र प्रतिवादी छन्। मोरङ इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो।

‘उनीबाहेक अन्य ३५ जना फरार प्रतिवादी कायम भएका छन्,’ मोरङ जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले भने। पक्राउ प्रतिवादी विक हातहतियार तथा खरखजना मुद्दामा सोमबार नै पुर्पक्षका लागि कारागार चलान भएका छन्। तर, शिक्षक हत्याको सुनुवाइ भने सुरू भएको छैन। मोरङ बुढीगंगा गाउँपालिकाऔ४ मा स्थित औद्योगिक क्षेत्रबाट विकलाई माघ ८ गते पक्राउ गरिएको थियो। न्यायाधीश दुर्गा खड्काको इजलासले विकलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको धमलाले बताए।

मिक्लाजुङ–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको गत मंसिर २३ गते हत्या भएको थियो। शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा घरदेखि पाँच सय मिटर टाढा बर्खेको जंगलमा शव भेटिएको थियो। हत्या गरेकै दिन नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूहले घटनाको जिम्मा लिएको थियो।

शिक्षक श्रेष्ठलाई घरबाट केही काम छ भनी अपहरण गरी जंगलमा लगेर हत्या गरिएको थियो। शिक्षक श्रेष्ठलाई विप्लव समूहका महासचिव चन्दकै निर्देशनमा हत्या गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रया दिनुहोस्