भागरथी हत्या प्रकरणका आरोपी दिनेश सार्वजनिक,बलत्कार नगरेको बयान

काठमाडौं । भागरथी हत्यामा संलग्न आरोपीलाई आज प्रहरीले सार्वजनिक गरेको छ। दोगडाकेदार गाउँपालिका– ७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पत्रकार सम्मेलन गरी अहिले दिउँसो सार्वजनिक गरेको हो।

उनले हत्याको आरोप स्विकारिसकेका प्रहरीले जनाएको छ।  भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेका बताएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको उनले बताए ।

भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले आफूले हत्या गरेको उनले बताएको प्रहरीले जनाएको छ ।

घटनापछि उनी भागरथीको न्याय माग्दै भएको प्रदर्शनमा सहभागी भएका थिए । तर, उनको उनको व्यवहार भने परिवर्तन भएको नजिकबाट चिन्नेहरुले बताएको प्रहरीले जनाएको छ ।

घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको सुवेदीले बताए । उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए । भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरीसमेत दिएको उनले जनाए ।

प्रकरणको सफल अनुसन्धान गरेको भन्दै स्थानीयवासीले डीआईजी सुवेदी लगायतका अधिकृतहरुलाई फूलमाला लगाइदिएर सम्मानसमेत गरेका छन् ।

 

प्रतिक्रया दिनुहोस्