भागरथी हत्या प्रकरण– आरोपी गाँजा सेवन गर्थे,घाँटी थिचेर मारेको हुनसक्ने अनुमान

काठमाडौ‌ । भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्ट लागुऔषध प्रयोगकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की भागरथी भट्टको २१ माघ दिउँसो लवलेकको सुनसान जंगलमा बलात्कारपछि हत्या भएको थियो ।

हत्या अभियोगमा भागरथीकै छिमेकी दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीका अनुसार पक्राउ परेका भट्ट गाँजा सेवनकर्ता रहेको खुलेको छ । ‘कहिलेकाहीँ खाने भनेर उसले हामीलाई बताएको छ,’ उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’

निर्जन जंगलको बीचमा पुगेपछि भागरथीलाई दिनेशले जबर्जस्ती गर्न खोजेका थिए । भागरथीले चिच्याएर प्रतिकार गरेपछि उनले भागरथीलाई धकेलिदिएका थिए ।

डिलमुनि लडेपछि प्रतिकार गर्न नसकेकी भागरथीलाई बलात्कारपछि भट्टले घाँटी थिचेर मारेको प्रहरीले दाबी गरेको छ ।

तर भट्टले भने बलात्कार गरेको अस्वीकार गरेको भएपनि घटनाको प्रकृति हेर्दा भट्टले नै बलात्कार गरेको हुनसक्ने प्रहरी अनुमान छ ।

भागरथीको हत्या गरेपछि दिनेश घरमै पुगेका थिए । भागरथीको हत्यारालाई कारवाही माग गर्दै भएका आन्दोलनहरुमा पनि उनी सहभागी थिए ।

प्रतिक्रया दिनुहोस्