मूल्य वृद्धिको विरोधमा आयल निगम अगाडि प्रदर्शन

काठमाडौं। सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिएको छ।

बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित आयल निगम कार्यालय अगाडि धर्ना बसेर नाराबाजी गरेको हो।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्रसमेत बुझाइने जानकारी दिए।

अनेरास्ववियूका नेता कार्यकर्ताहरुलाई प्रहरीले आयल निगमको मुख्य गेट अगाडि नै रोकेको थियो। त्यसपछि उनीहरु त्यहीँ बसेर ‘बढ्दो महँगी नियन्त्रण गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन सुरु गरे। प्रदर्शनलाई लक्षित गर्दै आयल निगमको कार्यालय अगाडि उल्लेख्यसंख्यामा नेपाल प्रहरीको टोली खटाइएको छ।

नेपाल आयल निगमले पछिल्लो पटक यही फागुन चार गते डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो।

त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो। खाना पकाउने ग्याससहित इन्धनमा गरिएको मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेका छन्।

प्रतिक्रया दिनुहोस्