मुगुमा भूमि आयोगको कार्यालय स्थापना

मुगुमा भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको छ । सरकारले भर्खरै गठन गरेको उक्त आयोगको ७७ वटै जिल्लामा कार्यालय स्थापना गर्ने क्रममै मुगुको गमगढी बजारमा कार्यालय स्थापना गरिएको आयोगका अध्यक्ष सोनाम छिरिङ्ग लामाले बताए ।

अब आयोगबाट भूमिहीनलाई जग्गा, लालपूर्जालगायत जग्गा सम्बन्धी सबै समस्या समाधान गरिनेछ । विहीवार कार्यालय स्थापना कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति मुगुका अध्यक्ष सोनाम छिरिङ्ग लामाले मुगुमा भूमि सम्बन्धी समस्याको समाधानलाई प्रभावकारी रुपमा अघि बढाइने बताए ।

साथै विपन्न, दलित, भूमिहीन नागरिकलाई विशेष प्राथमिकता दिएर आवश्यकता अनुसारको जग्गा विभिन्न प्रयोजनका लागि उपलब्ध गराइने उनको भनाइ छ । उनले भने, ‘हाल चार वटै स्थानीय तहमा कति भूमिहीन नागरिक छन् । जग्गा सम्बन्धी कहाँ कस्ता समस्या छन् भन्नेबारे लगत सङ्कलन हुने छ ।’

सदरमुकाम गमगढी बजारमा रहेका दर्जनौं सरकारी कार्यालयका जग्गा अतिक्रमण र जिल्लामा रहेका विभिन्न स्थानमा सार्वजनिक वन तीब्र रुपमा अतिक्रमण भइरहेको उनले बताए ।

उनले भने, ‘विभिन्न प्रकोपबाट जग्गा क्षति भएका तर लालपूर्जा भएका धेरै ब्याक्तिहरु छन् ।’ उनले उक्त पीडितहरुको पहिचाहन गरी समस्या समाधान गर्न भूमि सुधार आयोग मुगुका टिमलाई सुझाव पनि दिएका छन् ।

प्रतिक्रया दिनुहोस्