१७ दिनपछि भागरथी भट्टको महाकाली नदीमा अन्त्येष्टि

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको अन्त्येष्टि गरिएको छ । मृत भेटिएको १७ औं दिन शुक्रबार शव बुझेका आफन्तले दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा भट्टका अन्येष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जानकारी दिनुभयो ।

गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा मृत भेट्टिएपछि अपराधीको पत्ता लगाउनुपर्ने माग राख्दै भागरथीका आफन्शव बुझ्न अस्वीकार गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चडेपानीकै दिनेश भट्टलाई सार्वजनिक गरे पनि शव बुझ्न अस्वीकार गरेका आफन्तले बिहीबार दिनेशका बुवासमेत राखेर सरकारी वकिलको कार्यालयमा गरिएको बयानमा बलात्कार पछि हत्या गरेको स्वीकार गरेपछि शव बुझेका थिए ।

भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । सार्वजनिक गरेको दिनसम्म दिनेशले आफूले भागरथीको हत्या मात्रै गरेको बताउँदै आएका थिए ।

बुधबार नै भागरथीका दाई शंकर भट्टले दिनेशकाविरुद्ध कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट म्याद थप गरि ५ दिन अनुसन्धानका लागि अनुमति दिइसकेको छ । शव बुझ्नुअघि पीडित परिवारले प्रहरी अधिकृतलाई भेटेर अभियुक्त भनिएका दिनेशले बयान फेरिरहेकाले निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका थिए ।

भागरथी र दिनेश एकै गाउँ चडेपानीका हुन् । नाताले दुवैजना दिदीभाइ पर्छन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा भागरथी कक्षा १२ र दिनेश कक्षा ११ मा पढ्थे । गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरेको थियो । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिकहरू खटिएका थिए । हाल बरिष्ठ उपरीक्षक पाण्डेको टोलीको नेतृत्वले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रया दिनुहोस्