सिम्रौनगढ नगरपालिकामा १२ करोड हिनामिना, वडाध्यक्षहरू मिडियामा

बारा। बाराको सिम्रौनगढ नगरपालिकामा नगरसभामा गरी रकम किर्ते भएको पाइएको छ।

वडा नम्बर ४ का वडाअध्यक्ष राजेश प्रसाद यादव अर्का १० नम्बर वडाध्यक्ष हरिशंकर प्रसाद यादव र कार्यपालिका सदस्य परमाननन्द मुखियालेले नरपालिकामा भ्रष्टाचार भएको भन्दै दोषीउपर कडा कारबाहीको माग गरेका हुन्। २०७७/७८ को नगरसभामा किर्ते गरी १२ करोड हिनामिना भएको उनीहरूको आरोप छ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले यस्तो माग गरेका हुन्। नगरसभामा किर्ते गरी करोडौं हिनामिना भएको थाहा पाएपछि प्रहरीमा उजुरी पनि दिएको उनीहरुको भनाइ छ।

प्रहरीले उनीहरु (दोषी) लाई पक्राउसमेत गरेको उनीहरुले सुनाए। कार्यक्रममा राजेश प्रसाद यादवले भने, ‘२०७७/७८ को नगरसभामा किर्ते गरेर हिनामिना भएको छ। असार ८ गते बसेको नगरसभामा ३१ जनाको उपस्थिति थियो, त्यसमा ५ जनाको हस्ताक्षर किर्ते छ। नगरसभा ६० जनामध्ये, ३१ जनाको उपस्थिति थियो। त्यसमा पनि ५ जनाको हस्ताक्षर किर्ते गरिएको छ।’

आफूहरुले यो थाहा पाउनेबित्तिकै प्रहरीमा उजुरी दिएको पनि उनले स्मरण गराए। उनले भने, ‘सरकारी वकिलकहाँ फाइल गएको छ। बारा जिल्लामा गएर मुद्दा दर्ता हुनुपर्यो। हामीले त प्रहरी कार्यालयमा दर्ता गराएका छौं। तर, सरकारी वकिलले बदमास गरेको छ।’

नगरसभामा ठूलो रकम हिनामिना गर्ने किर्तेको नाइके नगर प्रमुख विजय शंकर यादव, प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल भएको पनि उनले ठोकुवा गरे। र, उनीहरुलाई साथ दिने लेखाअधिकृत सर्वेन्द्र चौधरी र योजना शाखा प्रमुख जितेन्द्र यादव रहेको उनले सुनाए। यादवका अनुसार उनीहर चारै जनामाथि प्रहरीमा मुद्दा दर्ता भएको र तीनरचार दिन थुनामा राखिएको छ। थप अनुशन्धान गर्न सरकारी वकिलले बाहिर निकाल्दा उनीहरुले बाहिर निस्किएपछि फूलमाला लगाएको र विजय जुलुस निकालेको पनि उनले सुनाए।

उनले यो केसमा जिल्ला अदालतमा फाइल पठाएर मुद्दा दर्ता गराउन माग गरेका छन्। उनकाअनुसार नगरसभा सदस्य कपिलदेव साह, पानादेवी चमाई, रमावती कुशवाह, दुस्साधिन र रम्बा साहको नामको हस्ताक्षर किर्ते भएको थियो।

सिम्रौनगढ कार्यपालिकाका सदस्यहरुले ०७७ भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र यही मंसिर १९ गते किर्ते मुद्दा दर्ता गरेको यादवले जनाए।

सिम्रौनगढ नगरपालिकामा विगतदेखिनै धेरै हिनामिना भइरहेका र नगरप्रमुखका कार्यकर्ताले मनपरी योजनालाई परितर्तन गर्ने गरेको पनि टिप्पणी गरे। आफूहरुले नगर प्रमुखसँग हिसाब माग्दा नदिएर अदालत जान बाध्य बनाएको पनि यादवको भनाइ छ।

उनले यो विषयमा केन्द्र सरकारको संघीय मामिला मन्त्रालयको समेत ध्यानाकर्षण गराएको बताए। उनले नगरपालिकामा उपसचिवको दरबन्दी पनि खाली रहेको गुनासो पोखे।

बोर्डको निर्णयबिना १०० जना कर्मचारीको नियुक्ति भएको पनि यादवको भनाइ थियो। त्यस्तै, गाडी तथा जिन्सी सामानबारे पनि यकिन नभएको उनको भनाइ थियो।

त्यस्तै, वडाका सदस्य परमानन्द मुखियाले उक्त किर्ते मुद्दा बारा जिल्ला अदालतमा दर्ता भएको अवस्थामा रहेको जानकारी दिए। उनले किर्ते मुद्दामा पक्राउ परेका ४ मध्ये २ जनालाई ४ दिन थुनामा राखेर र प्रमुख प्रशासकीय प्रमुखलाई एक दिन थुनामा राखेर अनुसन्धानको क्रममा किन छाडिएको भन्दै प्रश्नसमेत गरे।

प्रतिक्रया दिनुहोस्