भागरथी हत्या प्रकरणः दिनेशमाथि थप अनुसन्धानका लागि अझै ५ दिन म्याद थप

दिनेशको डिएनए समेत जाँच हुने

बैतडी। भागरथी हत्या आरोपी किशोर दिनेश भट्टमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ।

यसअघि गत बुधबार सार्वजनिक गरिएका दिनेशमाथि अनुसन्धानका लागि अदालतले ५ दिनको लागि अनुमति दिएको थियो। उक्त म्यादमा अनुसन्धान नसकिएकाले थप ५ दिनको लागि अनुमति पाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

बुधबार नै भागरथीका दाजु शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेका थिए। कुनै पनि अपराधमा संलग्न रहेको आरोप लागेका बालबालिकाको हकमा २१ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लवलेक जंगलमा उनको शव बीभत्स अवस्थामा भेटिएको थियो।

त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त घटनामा दिनेशको संलग्नता रहेको भन्दै गत बुधबार सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएका दिनेश भागरथीकै गाउँका हुन्। उनी नातामा भागरथीको भाइ पर्छन्।

सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म हत्या मात्रै गरेको र बलात्कार नगरेको बताए पनि बिहीबार सरकारी वकिलसमक्ष दिनेशका बुवासमेत राखेर लिइएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए। घटना माघ २१ गते दिउँसो नै भएको प्रहरीले जनाएको छ।

यसअघि जिल्ला अस्पताल बैतडीमा भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख गरिएको थियो। घटनामा संलग्न पत्ता नलागेको भन्दै भागरथीका परिवारले यसअघि शव बुझ्न मानेका थिएनन्। शुक्रबार भागरथीको शव बुझेर १७ औं दिनमा अन्तेष्टि गरिएको थियो।

दिनेशको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा सार्वजनिक गरिएको प्रहरीले बताएको छ। भागरथीको भजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पठाइएको छ। उक्त परीक्षण रिपोर्ट बलात्कार सामूहिक हो वा एकल हो भन्ने पत्ता लाग्नेछ।

दिनेशको डिएनए जाँच हुने

यस्तै प्रहरीको थुनामा रहेका दिनेशको पनि डिएनए परीक्षणका लागि प्रयोगशाला पठाइने तयारी भएको छ। साथै थप प्रमाण जुटाउने काम पनि गरिरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। उनले भने ‘थप तथ्य र प्रमाणहरु भिडाइरहेका छौं, हामी अनुसन्धानकै क्रममा छौं, अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा अहिले भन्न मिल्दैन।’

दिनेशले बयानमा पुरानो घरायसी रिसहबी र उक्त दिन विद्यालयमा भागरथीले आफूलाई जिस्काएकोले घर फर्किने बेला बाटोमा सो घटना गराएको बताएका छन्।

भागरथी दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म माविमा कक्षा १२ अध्ययनरत रहेकी थिइन् भने दिनेश पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत रहेका थिए।

घर जाने बाटोमा पर्ने लवलेक जंगलमा पुगेपछि पहिला सडकबाट धकेलेर भीरमा लडाएको त्यसपछि बेहोस अवस्थामा बलात्कार गरेको र पछि घाँटी निमोठेर हत्या गरेको समेत बयान दिएका छन्।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरेको थियो। उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे,केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिकहरु खटिएका थिए। हाल वरिष्ठ उपरीक्षक पाण्डेको टोलीको नेतृत्वले जिल्लामा बसेर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रया दिनुहोस्