उखु किसान र चिनी उद्योगको समस्या अध्ययन गर्न गठित कार्यदलद्वारा काम सुरू

धनगढी। उखु किसान र चिनी मिलको समस्या समाधन गर्न गठिन प्राविधिक कार्यदलले काम थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मी संयोजकत्वको टोली अहिले किसान र चिनी मिलको समस्या बुझ्न देश दौडाहामा निस्किएको छ।

सुदुरपश्चिमको कैलाली र कञ्चनपुरबाट सुरु भएको स्थलगत अध्ययन पूर्वी नेपालका उखु किसान तथा चिनी उद्योगसम्म पुगेर सकिने कार्यदलका संयोजक डा.रेग्मीले बताए।

अध्ययनको पहिलो चरणमा कञ्चनपुर र कैलालीका उखु किसान र चिनी मिलसंग सम्बन्धितहरुको समस्या र गुनासोहरु बुझ्ने प्रयास भएको रेग्मीले बताए। कार्यदलले किसानहरुले उखु खेतीबाट भोगेका समस्या, उखु खेती तथा चिनी मिलहरुबाट हुने ब्यावहारबारे धारणा संकलन गरेको थियो।

यस्तै, चिनी मिलले भोगेका समस्या, उद्योगको भविष्य लगायतका समग्र पक्षसँग रहेर सूचनाहरु संकलन गर्ने कार्य भएको कार्यदलका सदस्य एवं गृह मन्त्रालय उपसचिव प्रेमलाल लामिछानेले जानकारी दिए।

सुदूरपश्चिमबाट सुरु भएको स्थलगत अध्ययनमा उद्योग, कृषि, अर्थ मन्त्रालयका प्रतिनिधि, किसान प्रतिनिधि तथा चिनी उत्पादक संघ तथा आन्दोलनरत किसानका प्रतिनिधि सहभागी रहेको लामिछानेले बताए। सुदुरपश्चिमको सकिएपछि अध्ययन टोली नवलपरासी हुँदै पूर्वतर्फ लाग्नेछ।

चिनी उद्योगबाट वर्षौंदेखिकोे बक्यौता रकम नपाएको भन्दै किसानहरुले काठमाडौंमा गरेको आन्दोलन टुंग्याउन पुस १३ मा भएको समझदारीमा किसान र उद्योगीको समस्या समाधान गर्न एक प्राविधिक समिति गठन गर्ने समझादरी भएको थियो। समितिलाई बक्यौता भुक्तानी सम्बन्धमा किसान र उद्योगीले गरेको दाबी विवाद यकिन गर्ने, किसानले सरकारले दिएको सर्मथन मूूल्य नपाएको तथा अनुदान रकमको अपचलन भएको सम्बन्धमा तथ्य यकिन गर्ने कार्यदेश दिएको थियो।

अध्ययन प्रतिवेदन तयार गर्न कार्यदललाई १२० दिनको समय अवधि तोकिएको छ।

प्रतिक्रया दिनुहोस्